एयरपोर्ट क्षेत्रमा बढी मूल्य र नियम उल्लंघन गर्ने पसलमाथि कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका पसल, होटल र क्याफे बारमाथि कारबाही गरेको छ । आकस्मिक अनुगमनका क्रममा १८ वटा व्यवसाय जाँच गर्दा सात वटा प्रतिष्ठानलाई जरिबाना गरिएको हो ।
विभागले पाँच वटा व्यवसायिक फर्मलाई जनही तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ भने दुई वटा होटल तथा क्याफे बारलाई जनही दुई लाख पाँच हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ ।
अनुगमनका क्रममा एमआरपी नभएका सामान बिक्री गरिएको, स्टिकरले मूल्य छोपेर बढी रकम लिएको तथा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको विभागले जनाएको छ ।
केही व्यवसायलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने अन्य केहीलाई सामान्य चेतावनी दिइएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत व्यापार गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट गरेको छ ।

























