stcnepal long ad
global ime bank long

आज कुशे औँसी, मोती जयन्ती पनि देशभर मनाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदै छन्। यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ भन्ने धार्मिक विश्वास छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने मान्यता छ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न पाइन्छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश उत्पन्न गर्नुभएको हो।

पितृ सम्मान
यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर प्रकट गर्ने र बाबुको मुख हेर्ने परम्परा छ। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन्।

विशेषगरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्दछ। यस दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ। त्यस्तै रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि यस्तै मेला लाग्ने परम्परा छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार आज छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिन्छन्। बाबु दिवङ्गत भइसकेका सन्तानले गोकर्ण वा अन्य तीर्थमा गई तर्पण र सिदादान गरेमा पुण्य मिल्ने र कुल स्थिर हुने विश्वास छ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ। तर दान सधैं सुपात्रलाई गर्नुपर्ने शास्त्रीय मान्यता छ।

मोती जयन्ती
यसैदिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि देशभर विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ।

वि,सं। १९२३ साल भाद्रकृष्ण औँसीका दिन जन्मिएका र वि।सं। १९५३ सालमा सोही औँसीकै दिन ३० वर्षको उमेरमा दिवङ्गत भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याएका थिए।

शृङ्गार रसलाई सशक्त बनाएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनासाथ नेपालमा छापाखाना भित्र्याए, जसलाई नेपाली पत्रकारिताको सुरुआतको रूपमा मानिन्छ।

यस अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

IME Lifesidebar
kumari