stcnepal long ad
ime life insurance
national life
global ime bank long

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ ।

सरकारले विक्रम संवत् २०७१ साउन ५ गते राजपत्रमा प्रकाशित गरेको विशिष्ट पदाधिकारीबाहेकका राजनीतिककर्मी, खेलाडी, सुरक्षा निकायका अधिकारी, समाजसेवी, व्यापारी तथा तिनका नातेदार र पहुँचवालाले विशिष्ट कक्षको जथाभावी प्रयोग गर्न थालेपछि विमानस्थल कार्यालयले कडाइ सुरु गरेको हो ।

विमानस्थल प्रमुख हंशराज पाण्डेले भन्नुभयो, “विमानस्थलमा हुने विशिष्ट, अति विशिष्ट व्यक्तिको यात्राका क्रममा सहजताका लागि विशिष्ट कक्ष उपलब्ध हुने गरेको छ ।

हवाई सुरक्षामा प्रभावकारी सुधार ल्याउन सरकारले विसं २०७६ मा औपचारिक कार्यक्रमका लागि तोकेको मर्यादाक्रम र पर्यटन मन्त्रालयले विशिष्ट कक्ष को–कसले प्रयोग गर्न पाउने भन्नेबारे राजपत्रमा जारी गरेको सूचनाभन्दा बाहिरका पदाधिकारीलाई विशिष्ट कक्ष प्रवेशमा कडाइ गरिएको हो ।”

विशिष्ट कक्षमा स्वागत तथा बिदाइ गर्न आउने व्यक्तिका कारण विमानस्थल प्रवेशका लागि पास दुरुपयोग र विशिष्ट कक्षमा भिड बढेको उहाँले बताउनुभयो । अब राजपत्रमा तोकिएबाहिरका पदाधिकारीले विशिष्ट कक्ष प्रयोगका लागि सम्बन्धित निकायबाट कम्तीमा दुई घण्टाअगावै विमानस्थल कार्यालयलाई आधिकारिक पत्र पठाएर जानकारी गराउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मन्त्री, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट कर्मचारी, विदेशी पाहुना, कूटनीतिक नियोगका प्रमुख तथा राष्ट्रले विशिष्ट व्यक्ति भनी पहिचान गरेका व्यक्ति विदेश जाँदा र आउँदा प्रयोग गर्ने विशिष्ट कक्ष आफैँमा सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण रहेकाले हवाई सुरक्षाको दृष्टिकोणले यसको प्रयोगमा कडाइ गरिएको बताउनुभयो ।

उहाँले राजपत्रमा तोकिए बाहेकका पदाधिकारीले विशिष्ट कक्ष प्रयोग गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको सिफारिस आवश्यक पर्ने जानकारी दिनुभयो ।

विमानस्थलमा विशिष्ट व्यक्तिका लागि छुट्टै बाटो प्रयोग गर्ने व्यवस्थासहितको विशिष्ट कक्षमा प्रवेश गरेपछि अध्यागमन, सुरक्षा जाँचलगायत सहज हुने, सर्वसाधारणको भिडबाट टाढा हुने र विशिष्ट कक्षमा न्यानो आतिथ्यता पाइने हुनाले यसको प्रयोग गर्न जोकोही चाहन्छन् ।

विमानस्थलमा विशिष्ट कक्षको प्रचलन विश्वभर छ । विदेशमा स्वदेशी र विदेशी भिआइपीलाई फरक फरक कक्ष हुन्छन् । त्यस्तै आउने र जानेका लागि फरक फरक कक्ष हुन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकतर्फ र अन्तर्राष्ट्रियतर्फ एकरएक विशिष्ट कक्ष र अन्तर्राष्ट्रियतर्फ एक अति विशिष्ट कक्ष रहेको छ । अति विशिष्ट कक्षको प्रयोग राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा प्रयोग हुने गरेको छ ।

prabhu mahalaxmi
kumari