stcnepal long ad
ime life insurance
national life
global ime bank long

पहिचानका लागि अध्यागमनका कर्मचारीको छुट्टै पोशाक व्यवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अध्यागमनका कर्मचारीहरूका लागि छुट्टै ड्रेस कोडको व्यवस्था गरिने भएको छ । अध्यागमन विभाग र विभाग अन्तर्गतका १५ वटै कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पहिचान खुल्ने गरी ड्रेस कोड लागू गर्न लागिएको हो ।

अध्यागमनमा कार्यरत कर्मचारीहरूको पोशाकबाट नै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै पोशाकको व्यवस्था गरिएको हो ।

अध्यागमनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई हुँदा विमानस्थलमा हुने कमीकमजोरीको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका लागि ड्रेस कोडको व्यवस्था गरिएको विभागले जनाएको छ ।

अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको ड्रेस कोड गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्री स्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र अन्तर्गत कार्यरत सबै कर्मचारीहरूका लागि ड्रेस कोड अनिवार्य भएको छ ।

पोशाकले व्यक्तिको व्यक्तित्व झल्काउने मात्र नभई पहिचानसमेत गराउँदछ । सरकारी कर्मचारीको हकमा त्यही पोशाकले छुट्टै पहिचान, अस्थित्व र गरिमा राख्दछ ।

सेवामा रहँदा ड्रेस कोडको परिपालना आचारसंहिताको विषय पनि बन्दछ । कर्मचारीलाई छुट्टै पोशाक तोकिदिँदा कर्मचारीलाई छुट्टै पहिचान गर्नका साथै जिम्मेवार बनाउन र सामूहिक भावनाकोसमेत विकास गर्ने विश्वास गृहको रहेको छ ।

निजामती कर्मचारीको छुट्टै पोशाक तोकिएको छ, जसका लागि सरकारले पोशाक भत्ताबापत १० हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।

देशको मुहारका रुपमासमेत लिइने विमानस्थलमा कार्यरत कर्मचारीहरूका लागि छुट्टै पोशाक हुनुपर्ने सुझावहरू पछि गृह मन्त्रालयले अध्यागमन अधिकारीहरूका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

यससँगै महिला कर्मचारीले ग्रे रङ्गको कोट पाइन्ट र फिक्का आकासे रङ्गको सर्टमा गाडा निलो रङ्गको टाई रहेको छ भने पुरुष कर्मचारीको हकमा सोही डिजाइनको कोट पाइन्ट र सर्ट तोकिएको छ । महिला कर्मचारीले यदि साडी चोलो लगाएमा राष्ट्रिय पोशाकमा तोकिएको सेतो साडीमा ढाकाको पारी राखेर कोट लगाउनु पर्नेछ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेवा प्रदायकका रूपमा सयौँ एजेन्सीहरूले काम गर्दै आएका छन् । अन्य निकायसँग पनि अध्यागमनका कर्मचारीको पोशाक मिल्न गई को कताको कर्मचारी हो भन्ने प्रष्ट छुट्याउन कठिनाई भई त्यहाँ भएका कमीकमजोरीका सम्पूर्ण भागीदार अध्यागमन कार्यालयका कर्मचारी बनिरहनु परेकोले पनि छुट्टै ड्रेस कोडको आवश्यकता महसुस गरिएको बताइएको छ ।

विभिन्न निकायले गरेको गल्तीको आरोप समेत अध्यागमनका कर्मचारीले लिनु पर्दा नगरेको गल्तीको आरोपबाट मुक्त हुनका लागि भए पनि अध्यागमन कार्यालयको कर्मचारीको भिन्न पहिचान बनाउन टाढैबाट प्रष्ट रूपमा चिनिन फरक पोशाक लागू गरिन लागेको अध्यागमन विभागको भनाई छ ।

जहिल्यै चर्चामा रहने अध्यागमन सुधारका लागि भन्दै गृह मन्त्रालयले अनेकन सुधारका योजना अघि सारिरहेको छ ।

बिचौलियाहरूसँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मै कर्मचारीहरू परिवर्तन गर्नेदेखि सेवाग्राहीलाई दुःख दिएको भेटिए तत्काल हटाई आवश्यक कारबाही शुरु गरिएको छ भने छड्के अनुगमनसमेत गर्न शुरु गरिएको छ ।

केही समय अघि मात्रै गृह सचिव एकनारायण अर्याल आकस्मिक रूपमा विमानस्थल पुगेर सुरक्षा र सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका थिए ।

IME Lifesidebar
kumari