stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति

आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको हो ।

प्रतिवेदन अनुसार मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । जुन गत असारको तुलनामा २२.७ प्रतिशतले बढी हो । यस्तो सञ्चिति नेपालको एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उक्त सञ्चितिले १५ महिनाको वस्तु आयात धान्न पुग्ने आकलन छ । कुनै समय सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थाका कारण सरकारले १४ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सोही समय सञ्चिति घटेर सङ्कटकालीन अवस्थामा पुगेको श्रीलङ्कासँग दाँजेर नेपालको बाह्य अवस्थाको तुलना हुने गथ्र्यो । त्यसको दुई वर्षमै नेपालको विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा उच्च अवस्थामा पुगेको हो ।

विदेशी विनिमय उच्च हुनुमा मुलुक भित्रिने विप्रेषणको वृद्धिदरको महत्वपूर्ण योगदान रहेको तथ्याङ्कले देखाउँछ । प्रतिवेदन अनुसार चैतसम्म मुलुकमा आठ अर्ब १५ करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । जुन अघिल्लो वर्षको नौ महिनाको तुलनामा १७.७ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा मुलुकको चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपियाँले घाटामा थियो ।

त्यस्तै चैतसम्म तीन खर्ब ६५ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा देखिन्छ । अघिल्लो वर्षको चैतसम्म शोधनान्तर एक खर्ब ७४ अर्ब रुपियाँले बचतमा थियो ।

घट्यो मूल्यवृद्धि

समीक्षा अवधिमा मूल्यवृद्धि उल्लेख्य रूपमा घटेको पाइएको छ । राष्ट्र बैङ्कका अनुसार चैतमा उपभोक्ता मूल्यवृद्धि केवल ४.६१ प्रतिशत मात्र रहेको छ । जबकि २०७९ चैतमा मूल्यवृद्धि ७।७६ प्रतिशत थियो ।

सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थको ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१४ प्रतिशत मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खाद्य तथा पेय पदार्थमध्ये सबैभन्दा धेरै मरमसला उपसमूहको २२.६४ प्रतिशत र तरकारीको १६.९९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले मूल्यवृद्धि भएको छ । चैतमा थोक मूल्यवृद्धि भने ४.९४ प्रतिशत पुगेको छ ।

क्षेत्रगत हिसाबले सबैभन्दा धेरै पहाडमा ५.३३ प्रतिशत, तराईमा ४.५८ प्रतिशत, हिमालमा ४.३२ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.०६ प्रतिशतले मुल्यवृद्धि भएको देखिन्छ ।

नौ महिनासम्म मुलुकको अन्तर्राष्ट्रिय व्यापार विगतको तुलनामा घटेको छ । प्रतिवेदन अनुसार चैतसम्म ३.७ प्रतिशतले घटेर एक खर्ब १४ अर्ब रुपियाँको निर्यात भएको छ । त्यस्तै आयात २.८ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्ब रुपियाँ कायम भएको छ ।

prabhu mahalaxmi
kumari