citizens life insurance long ad
stcnepal long ad

बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउन थालियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएयता तीन वटा दलले बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन आयोगलाई आग्रह गरेका हुन् ।

महाशाखाका प्रमुखसमेत रहनु भएका सहसचिव यज्ञप्रसाद भट्टराईले मङ्गलबार नेपाल समाजवादी पार्टीले उम्मेदवारको नाम हटाउन पत्राचार गरेको जानकारी दिनुभयो । सो दलले बन्दसूचीबाट एक जनाको नाम हटाउन आग्रह गरेको थियो ।

नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन पत्राचार गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बुझाएको १०२ जनाकै नाम बन्दसूचीबाट हटाउन आग्रह गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपाउँदा एकीकृत समाजवादी राष्ट्रिय दल हुन सकेन । त्यसै गरी सो दलले सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फका दुई जना उम्मेदवारको नाम हटाउन आग्रह गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रतिनिधि सभा सदस्यतर्फको एक उम्मेदवारलाई बन्दसूचीबाट हटाउन आग्रह गरेकोमा आयोग बैठकले सो दलको उम्मेदवारको नाम हटाइसकेको छ । राष्ट्रिय सभामा राप्रपाको प्रतिनिधित्व छैन ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फका उम्मेदवारको नाम आयोगमा बुझाएका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ ।

कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भन्नुभयो, “केही दलले एकरदुई जना गरेर यसअघि पनि नाम हटाएका छन् ।”

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनकै लागि दलले उम्मेदवारी दर्ता गराउनुअघिसम्म बन्दसूचीबाट नाम हटाउन पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बन्दसूचीमा नाम हुँदाहुँदै उम्मेदवारी दर्ता गराउने प्रयास गरिए राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन पाउने छैनन् ।”

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने छ । सो निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने छ । त्यसअघि राष्ट्रिय सभाका उम्मेदवारलाई सम्बन्धित दलले समानुपातिकतर्फको बन्दसूचीमा नाम राखेको भए हटाउनुपर्ने हुन्छ ।

IME Life
kumari