stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दसैँ मान्नुभन्दा व्यापार ठुलो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बडादसैँमा घरगाउँ उल्लासमय भइसक्दा हिमाली जिल्लाका बासिन्दा भने सानोतिनो व्यापार गरेर कमाउन सहर पस्ने गर्छन् । दसैँमा परिवारसँगै बसेर खानपिन गर्दै रमाइलो गर्न मन भए पनि दसैँमा तिनै परिवारलाई बिर्सनुपर्ने बाध्यता उनीहरूको छ ।

वर्षा नसकिँदै लेकमा फल्ने टिमुर, जिम्बु, शिलाजित, यार्सागुम्बा, केसरलगायतका जडीबुटी र मरमसलाको भारी बोकेर हिमालका बासिन्दा सहर पस्ने गरेका छन् । उनीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म हिमाली उत्पादन बोकेर आइपुग्छन् ।

त्यसरी आएकामध्ये जुम्लाका एक दम्पती खड्गबहादुर शाही र भद्रा शाही शनिबार वसन्तपुर परिसरमा भेटिनुभयो । शिलाजित अनि केसरका थुप्रै पोकासँगै बट्टाभरि यार्सागुम्बा बोकेका ती दम्पती दरबार परिसरमा घरी यता घरी उता गर्दै नेपाली जडीबुटी बेच्ने प्रयास गर्दै हुनुहुन्थ्यो ।

दसैँको फूलपाति भिœयाउने दिन भएकाले पनि वसन्तपुर दरबार क्षेत्रमा शनिबार छुट्टै रौनक थियो । दसैँघरलाई सिँगार्ने र व्यवस्थित गर्नेको लर्को दरबारभित्र र बाहिर गर्दै व्यस्त देखिन्थे । बिदा मनाउन आएका विदेशी पयर्टकलाई दरबार परिसरमा देखिएको रङ्गीचङ्गी भिडसँगै दरबार वरपरको सौन्दर्य क्यामरामा कैद गर्न भ्याइनभ्याइ थियो ।

शाही दम्पती अनौठो मानेर विदेशीका मुहार हेर्थे अनि स्थानीय नेपाली देखेपछि भने ‘शिलाजित लिनुस् चिसोको ओखती’ भनेर बोलाउँदै हुनुहुन्थ्यो । पारिलो घामले ज्यान रनक्क तातेपछि उहाँहरू सेतो मछिन्द्रनाथको मन्दिरनजिक पेटीमा बस्नुभयो । चार सय रुपियाँको शिलाजितको कालो ढिक्का हेर्दै एक आगन्तुकले सोधे, “सक्कली त हो नि ?”

खड्गबहादुरले भन्नुभयो, “निक्खर हो नपत्याए हेर्नुस् न तन्काउन, पिट्न अनि डल्लो पार्न सबै मिल्छ, नक्कली भए त छिनिहाल्छ ।”

बुढाको कुरामा सही थाप्दै भद्राले थप्नुभयो, “यो दसैँका बेलामा किन झुटो भन्दो हौँ, उतैबाट ल्यायाको हो ।” यस्तै भन्दाभन्दै दम्पतीले शिलाजित र केही थान केसरका पोका बेच्नुभयो ।

दसैँका बेला घर परिवारबाट टाढा हुनु पर्दाभन्दा पनि बाँकी छ महिनाको जोहो गर्ने खर्च बन्ला कि नबन्ला भन्ने चिन्ता उहाँहरूलाई छ । चार छोराछोरी सिँजा गाउँमा छाडेर तीन महिनाअघि सहर पसेका जोडीले मात्र एक क्विन्टल शिलाजित बेचिसकेको बताउनुभयो । यार्सागुम्बा पनि बुझेकाले राम्रै मोलमा किन्ने गरेको बताउनुभयो ।

यार्सा देखाउँदै भन्नुभयो, “बाजुराको हो खास्सा राम्रो छ, अरूले जस्तो रङ लगाएको छैन, गोटाको आठ सय रुपियाँ हो । यार्सागुम्बा नेपालकै अति महँगो जडीबुटीमध्येको एक हो । विदेशमा व्यापार गर्ने हो भने डलरमै आम्दान्ी गर्न सकिन्छ तर विदेशमा कारोबार गर्न नसक्दा आफैँ यसरी डुलेर यार्सा बेच्नेको हुल काठमाडौँमा ठुलो छ ।

जाँदा–आउँदा, खाँदा–बस्दाको खर्च कटाएर अर्को छ महिनाको घर खर्च र खेतीपातीका लागि खर्च जुटाउनैपर्ने बाध्यता रहेको भद्रा शाहीले सुनाउनुभयो । छोराछोरी हुर्किसके पनि जागिर कसैको छैन । भद्राले भन्नुभयो, “ठुली छोरी त मै जत्री भइसकी, खेती गर्न जान्या छन्, बर्खेखेती लाएर आएको, काट्ने, छाट्ने गरेर थन्क्याउन सक्लान् ।”

उहाँहरूसँग आउनुभएका अरू जोडी पनि छुट्टिएर आआफ्ना सामान बेच्न सखारै बजार निस्कन्छन् । शशिकला शाही र उहाँका बुढासहितको जोडी पनि यार्सा र अरू जडीबुटी बोकेर अलि पर ग्राहक खोज्न तल्लिन हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, “घरपरिवारको माया मनभरि छ, यो दसैँ यस्तै भो अर्को दसैँमा सँगै बस्ने हो ।” आकासे खेतीबाट घरपरिवार धान्न गाह्रो हुँदै गएपछि अचेल जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका धेरै युवा वैदेशिक रोजगारीमा जान थालेका छन् ।

जसले गर्दा भएका खेतबारी बाँझै हुने क्रम बढेको छ । नयाँ जनगणना अनुसार हिमाली क्षेत्रको जनसङ्ख्या कुल जनसङ्ख्याको ६.९ प्रतिशत छ । आजको गोरखपत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari