सशस्त्र प्रहरी परिवार महिला सङ्घको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिक साधारण सभा विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ ।
सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सङ्घको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा लामो समयदेखि सङ्घको कार्य समितिमा रही आफ्नो अमूल्य योगदान दिएका पदाधिकारीहरूलाई सङ्घकी अध्यक्ष लामिछाने अर्यालले उनीहरूको योगदानको कदर स्वरूप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेकी थिइन् ।
सो अवसरमा सङ्घकी सदस्य सचिव तुलामाया ठाडा मगरले सङ्घको वार्षिक कार्य प्रगति विवरण तथा सङ्घकी कोषाध्यक्ष श्रीमती पूजा राजभण्डारीले आर्थिक वर्ष २०७९र०८० को आय व्यय विवरण प्रस्तुत गरेकी थिइन ।
सङ्घको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा सङ्घबाट भइरहेका उपलब्धि लगायत विविध विषयमा सो साधारण सभामा छलफल भएको थियो ।
सङ्घले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरूमा योगदान पुर्याउनुकासाथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नेदेखि विपद् प्रकोपमा पीडितहरूलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई निःशुल्क आवासीय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
सोही अवसरमा सङ्घकी अध्यक्ष लामिछाने अर्यालले सशस्त्र प्रहरी परिवार महिला सङ्घले सञ्चालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन
गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत प्रदान गरेकी थिइन् ।
त्यस्तै सङ्घले यही असोज १० देखि १४ गतेसम्म सङ्घका पदाधिकारीहरूका लागि सञ्चालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत सङ्घकी अध्यक्ष
अर्यालले मायाको चिनो प्रदान गरेकी थिइन् ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


























