बुद्ध एयर प्रा.लि.ले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार
काठमाडौं । बुद्ध एयर प्रा.लि.ले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २०.५० प्रतिशतले धेरै हो ।
सन् २०२२ मा कम्पनीले १० अर्ब ९ करोड ८० लाख, सन् २०२१ मा ३ अर्ब ३३ करोड र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो ।
यसले सन् २०२३ को मध्ये जुलाईदेखि अक्टोबरसम्म ३ अर्ब ८३ करोड व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
यस कम्पनीले १ अर्ब ६० करोड २३ लाख नेपाली रुपैयाँ र २ करोड ५५ लाख डलर कर्जाका लागि पनि रेटिङ पुनः पुष्टि गराएको छ।जसमध्ये लङ ट्रम ६० करोड ८३ लाख रुपैयाँ र २ करोड ५५ लाख डलर कर्जाका लागि ‘इक्राएनपी एलए माइनस’ र सर्ट ट्रम ९९ करोड ४० लाख रुपैयाँका लागि ‘इक्राएनपी ए२ प्लस’ रेटिङ पुनः पुष्टि भएको छ ।
बुद्ध एयरले नेपालको आन्तरिक ट्रंक रुटहरुमा हवाई सेवा दिंदै आएको छ । अन्तर्राष्ट्रिय उड्डयनमा सीमित उपस्थितिको साथ वाराणसी, भारतबाट काठमान्डौंमा उडान भर्ने गरेको छ ।
बुद्ध नेपालको सबैभन्दा ठूलो र लामो समयसम्म सञ्चालन भएको निजी क्षेत्रको एयरलाइन्स हो । यसको बजार हिस्सा सन् २०२२ मा ५६ प्रतिशत थियो ।
अहिले बढेर सन् २०२४ सम्म ६७ प्रतिशत पुगेको छ । बजार हिस्सा र यात्रुसंख्या बढ्दै गएको कारण यसको व्यापारमा पनि सुधार भएको हो ।