stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । यो प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका छन् ।

पोखराको हिमालयन गल्फ कोर्स आयोजना गरिएको प्रतियोगिताको समापन शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

१८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।

यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जितेका थिए । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जितेका थिए । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरेका थिए ।

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडेकी थिइन् । क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जितेका थिए । त्यसैगरी लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जितेका । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । “देशमा लगानीको वातावरण बनेको छ ।

व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले समापन समारोहमा भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु पर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”

समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।”

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरी मिडियाले गरेको कार्यक्रमले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताएका थिए । प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो ।

गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आवद्ध भएको थियो ।

हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजश्व तिरिसकेको छ । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

पोखराको पर्यटन प्रवर्धन र गण्डकी प्रदेशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउनका लागि यो सहकार्य गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश  सरकार र पोखरा महानगरपालिका सह–आयोजकको रुपमा रहेका थिए । यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बीवाईडी रहेको थियो ।

प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका थिए ।

बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रवर्द्धन गर्न साइकल र्याली समेत सम्पन्न भएको थियो । यसअघि गत वर्षको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो ।

२०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

२०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो ।

विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।

 

IME Lifesidebar
prabhu mahalaxmi
kumari