काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन् ।
कार्यवहाक नगरप्रमुख डङ्गोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो ।
उनले विपद् प्रभावितको उद्धार, उपचार तथा राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताइन् । उनले भनिन्, “अहिले राष्ट्रिय सङ्कट परेको छ । यस्तो बेलामा नागरिकको जीवन बचाउने, घाइतेको उद्धार र राहतको काम भइरहेको छ । परिवार र आफन्त गुमाएका व्यक्तिलाई हामी सहयोग गर्छौँ ।”
त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिँदै डङ्गोलले आवश्यक औषधि तथा उपकरणको उपलब्धताबारे जानकारी लिएकी थिइन् । अस्पतालका उपनिर्देशक डा पवनराज चालिसेले विपद्का कारण आकस्मिक स्वास्थ्य सेवा बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताइन् ।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्थाबारे पनि कार्यवाहक प्रमुख डङ्गोलले जानकारी लिइन् । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले उपचाररत बिरामीको अवस्थाका बारेमा उल्लेख गरेका थिए ।
सो अवसरमा पनि उनले अस्पतालमा उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउन महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।























