महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल–पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन
भवन निर्माणको लागत करिब २ करोड ८ लाख रुपियाँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल(पेमला गीत गंगा भवन’को उद्घाटन गर्नुभएको छ ।
महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५ औँ स्मृति दिवसको अवसरमा भवन उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।
उद्घाटनपछि बोल्दै उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिको मनमा आउने भावना छुने गीत गाएका कारण नारायण गोपालका गीत जीवन्त छन् । यो जीवन्तताका कारण उहाँका गीत सम्पदा बनेका छन् । यस्ता अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले लगानी गरेको हो ।’
उहाँले भन्नुभयो, ‘महानगरपालिकाले लगानी गरेको भवनमा सबैको पहुँच होस् । हरेक कला साधकका लागि उपयुक्त होस् भनेर समयसमयमा अनुगमन पनि गरेका थियौँ । यसरी निर्माण भएको भवनबाट कला साधकहरुको मन्दिर बन्नेछ ।’
कार्यक्रममा महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, कोषका अध्यक्ष दिपक के. सी. सहितका वक्ताहरुले नारायण गोपालको सांगीतिक जीवन र नेपाली गीत संगीतको उचाइमा योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरुले नारायण गोपालका चर्चित गीतहरु गाउनुभएको थियो ।
भवन निर्माणका लागि २०८० चैत ७ मा कार्यादेश दिएको दिइएको थियो । भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल छ ।
भवनको वाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ । प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट रहेको भवनको क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ । भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । यसलाई संग्रहालय बनाउने योजना छ ।





























