citizens life insurance long ad
stcnepal long ad

नेपाली कांग्रेसको महाधिवेशन: आज ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा हिजो शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज मंसिर २६ गते आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ ।

जसमा चार जना प्यानलल सहित चुनावी मैदानमा छन् भने दुई जनाको व्याक्तिगत उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । भोली सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने बताइएको छ । मतदान मतपत्र मार्फत गरिने भएको छ ।

विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जित्नका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था रहेको छ ।

IME Life
kumari