एमालेको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा सर्ने
काठमाडौं । नेकपा (एमाले) को थापाथलीस्थित केन्द्रीय कार्यालय अब ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएको छ । थापाथलीमा रहेको हालको कार्यालय सानो भएको कारण एमालेका सबैजसो बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमै हुदै आएका छन।
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालबाट गर्ने सबै काम त्यहीबाट गर्ने छ। नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानकाबीच आज महत्वपूर्ण समझदारी भएको छ। अब केही समयपछिदेखि नै नेकपा (एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुने छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने पार्टी कार्यालयका लागि नभइ वाम तथा लोकतान्त्रिक योद्धाको संग्राहलय बनाउन प्रतिष्ठानसँग सहमति भएको बताएका छन । उनका अनुुसार प्रतिष्ठानसँग ५ वर्षका लागि सहमति भएको छ।
धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठाबाट गत बैशाख १ गते एमालले पार्टी कार्यालय थापाथली हाइटमा माडवारी व्यापारीको घरमा सरेको थियो। अस्थायी प्रयोजनका लागि लिइएको थापाथलीको भवन साँघुरो भएपछि च्यासलस्थित भवनमा सार्न लागिएको हो।
०७२ बैशाख १२ गते गएको भूकम्पले बल्खु मदनगरस्थिति एमाले मुख्यालय भवन भत्काएपछि एमालेले धुम्बाराहीमा कार्यालय सारेको थियो। मदन नगर बल्खुमा आधुनिक मुख्यालय बनाउन शिलान्यास समेत भएको छ।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर गत बैशाख १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको शिलान्यास गरेका थिए। तर निर्माण कार्य अगाडि बढन सकेको छैन।


























