जिल्ला सभापतिमा देउवाको पकड घटदै
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा गत शनिबारदेखि हिमाली २१ जिल्लाको जिल्ला अधिवेशन शुरू भएको छ। यस क्रममा १० जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
रामेछाप र दोलखा जिल्लाको सभापतिमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनस् निर्वाचन गर्ने तयारी गर्दै गर्दा रामेछापमा सबै भन्दा बढी मत ल्याउने पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई प्रतिस्पर्धी लवश्री न्यौपानेले समर्थन गरेकाले पुनस् निर्वाचन नगरि कान्छाराम सभापतिमा निर्वाचित भएका छन।
दोलखामा भने पुन निर्वाचन हुने भएको छ। जिल्ला सभापतिमा ५०.१ प्रतिशत मत नल्याएमा दोश्रो चरणमा धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच पुन प्रतिष्पर्धा हुने रहेको छ।
अहिले सम्म नौं जिल्लाको सम्पन्न भएको अधिवेशनबाट संस्थापन पक्षका ४ र संस्थापन इत्तर रामचन्द्र पौडेल पक्षबाट ४ जना जिल्ला सभापति निर्वाचित भएका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका एक जनाले जिल्ला सभापतिमा विजय हासिल गरेका छन्।
शनिबार भएको जिल्ला अधिवेशनमा पौडेल पक्षका उम्मेदवारहरु पूर्वमन्त्री रोमी गौचन थकाली मुस्ताङबाट र पर्वी रुकुम जिल्लाबाट पूर्व सहायक मन्त्री केशरमान रोक्का विजयी भएका छन।
आइतबार भएको निर्वाचनबाट पौडेल पक्षकै पूर्व राज्यमन्त्री दीपक खड्का संखुवासभाबाट र अम्बबहादुर शाही कालीकोटबाट जिल्ला सभापतिमा विजयी भएका छन्।
संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित खड्काले प्रतिस्पर्धी राइमान राईलाई १ हजार बढी मत अन्तरले पराजित गरेका थिए। खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईले १ सय १० मत मात्र ल्याएका थिए।
पूर्व राज्यमन्त्री खड्का कांग्रेसको आन्तरिक राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। शशांक कोइरालाका निकट मानिन्छन्। संखुवासभाको जिल्ला अधिवेशनबाट उपसभापतिमा रामकुमार जिमी (१६, अनन्त गौली ६७) मत ल्याए बिजयी भएका छन।
यस्तै सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन्।
यता संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा निकट नेता पाल्तेन गुरुङ र टेकबहादुर गुरुङको समर्थनमा मनाङ जिल्ला सभापतिमा सर्बसम्मत रुपमा शंकर गुरुङ गत शनिबार विजयी घोषित भएका छन्। संस्थापन पक्षबाट रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी भएका छन्।
आइतबार सभापतिमा भएको निर्वाचनमा तामाङले ६ सय ६८, संस्थापनइतर समूहका लव श्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए। सभापतिमा निर्वाचित हुन खसेको सदर मतको ५० प्रतिशत कसैले पनि नपुर्याएपछि पहिलो र दोश्रो मत ल्याउने तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो।
तर, न्यौपानेले दोश्रो चरणमा प्रतिष्पर्धा नगर्ने जनाएपछि तामाङ विजय घोषित भएका थिए। रामेछाप सभापतिमा विजयी तामाङ सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी निकट क वर्गका ठेकेदार कांग्रेस हुन्।
यस्तै संस्थापन पक्षबाट ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ निर्वाचित भएका छन्। तुम्याहाङले पूर्वजिल्ला सचिव छविलाल गुरुङलाई सभापतिमा पराजित गरेका छन्।
अधिवेशनबाट उपसभापतिमा गणेश चोङवाङ र डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्। यस्तै सहसचिवमा तेज सुनुवार र नन्दकुमार आङबुहाङ निर्वाचित भएका छन्।
संस्थापन पक्षकै मोहनबिक्रम सिंह हुम्लाबाट सर्बसम्मतले सभापति चयन भएका छन्। हुम्लामा सिंहसहित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र प्रदेश प्रतिनिधि पनि सर्बसम्मतले चयन भएको छ।
संस्थापन इत्तर समूह पौडेल समूहका अम्मबहादुर शाही कालिकोट कांग्रेस जिल्ला कार्यसमिति सभापतिमा सर्बसम्मतले चयन भएका छन्।
पौडेल समूहका शाहीलाई सभापति चयन गर्न नेपाल तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही र नेता सिटौला समूहका नेता तथा जिल्ला सभापति हर्षबहादुर बमले समर्थन गरेका थिए । पौडेल र सिटौलासमूहको सहमतिपछि कालिकोटमा देउवा समुहले प्रतिष्पर्धामा उत्रने चेष्टा गरेन।
कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको थियो।
दुई वटा निर्वाचन क्षेत्र भएको गोरखाको जिल्ला सभापतिमा युवा नेता नन्दप्रसाद न्यौपाने विजयी भएका छन्। न्यौपाने सिटौला समूहका नेता हुन। लोकप्रिय नेता न्यौपानेलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ र समर्थन रहेको थियो।
दोलखामा भएको निर्वाचनमा पहिलो र दोश्रो मत ल्याउने बर्मा लामा र ताराकुमार खड्काबीच हुने भएको छ।
दोलखामा भएको जिल्ला सभापतिको चुनावमा संस्थापन पक्षका उम्मेदवार तथा बहालवाला जिल्ला सभापति रुद्रबहादुर खड्का तेश्रो मत पाएपछि दोश्रो चरणको प्रतिष्पर्धामा उनी वाहिरिएका हुन्।
चौथो मत ल्याउने केशव चौलागाईं पनि प्रतिष्पर्धाबाट बाहिरिएका थिए। दोश्रो चरणको सभापतिको निर्वाचनमा देउवा समूहले ताराकुमार खड्का र बर्मा लामामध्ये जसलाई समर्थन गरे उसैले जिल्ला सभापति जित्ने सम्भावना रहेको छ।




















