देउवा–चौथाइवाले भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन् । भदौं ६ गते आइतबार अपरान्ह इण्डियन एयरबाट काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा चौथाइवाले नेपाली कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिएका छन्। उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना समेत दिएका थिए।
देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र नेता मानिन्छन् ।
देउवा र चौथाइवालेबीच भेटमा नेपाल(भारत सम्बन्ध, सीमा विवाद, कालापानीको विषय, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुला जिल्ला व्यास गाउँपालिकाका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ। चौथाइवालेको नेपाल आवागमनले नेपाल(भारत सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।



























