stcnepal long ad
ime life insurance
national life
global ime bank long

कांग्रेसको २९ गते हुने विरोध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो ।

७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौँ । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मङ्सिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ ।

त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौँ । प्रदर्शन गर्दै गर्दा बिहीबारको बैठकले विशेष रूपमा देशभरि रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले यो सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार बने पछाडि निरन्तर बढिरहेको भ्रष्टाचार, स्वास्थ्य सामग्रीको खरिदसम्ममा भएको भ्रष्टाचारदेखि लिएर भ्रष्टाचारका अनेकन प्रकरणहरूको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकाङ्क्षा प्रस्ततु गरेको समेत बताउनुभयो । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो २९ गते देशैभरि जिल्लामा विरोध कार्यक्रम हुन्छ ।

त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ, त्यसलाई केन्द्रित गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रित हुन्छ । यो प्रारम्भ मात्रै हो ।’

२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताउनुभयो ।

IME Lifesidebar
kumari