पार्टी एकता गम्भीर संकटको मोडमाः महासचिव
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थ मन्त्री समेत रहेका पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधका कारण पार्टीमा संकट आएको संकेत समेत गरेका छन् । उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेको समेत औँल्याएका छन् ।
पौडेलले पार्टी एकता सम्पन्न भएसँगै एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी भएको उल्लेख गर्दै तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्व माथि समेत बारम्बार प्रश्न उठेको भनेका छन् । पौडेलले जुन उद्देश्य सहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएको थियो सो बमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको जनाएका छन् ।






















