नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
संसद्मा विचाराधीन विधेयकमा छलफल सहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्याउने कांग्रेसको तयारी छ ।
यसअघि शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने निर्णय गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसद्भित्र होस् वा बाहिर एकढिका भएर प्रस्तुत हुन निर्देशन दिएका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेबाट बस्दैछ ।