citizens life insurance long ad
stcnepal long ad

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ ।

व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ ।

असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ ।

प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सुपथ मूल्य पसल  सञ्चालन  गर्ने  निर्णय  गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिनुभयो ।

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ ।

दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।

सुपथ मूल्य पसलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले उपभोक्तालाई दिएको छुट बापतको रकम सरकारले शोधभर्ना गर्ने गरिएको छ तर विगतमा खाद्य कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेबापत करिब डेढ अर्ब रुपियाँ शोधभर्ना पाउन बाँकी रहेको जनाएको छ ।

खाद्य कम्पनीले उपत्यकासँगै बाहिरी जिल्लामा आफ्ना बिक्री कक्षबाट सुपथ मूल्यमा सामान बिक्री गर्दै आएको छ ।

सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।

तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ ।

दशैँमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न खाद्य कम्पनीले खसीबोका बिक्री गर्ने गरेको छ ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले यसपालि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । यसका लागि छ करोड ४५ लाख रुपियाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

“दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुन्छ, निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गर्न सक्ने हुँदा बजार मूल्यमा हस्तक्षेप गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउन खसीबोका खरिद बिक्री गर्दै आएका हौँ,” उहाँले भन्नुभयो ।

खसीबोका व्यापारका लागि कम्पनीले गत वर्ष छ करोड रुपियाँ छुट्याएको थियो । तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने लक्ष्य राखेको भए पनि खरिद मूल्य बढेका कारण कम्पनीले दुई हजार तीन सय खसीबोका मात्रै ल्याएर बिक्री गरेको थियो । कम्पनीले लहान, वीरगञ्ज, मुस्ताङ, दाङलगायतका जिल्लाबाट खसीबोका खरिद गरेर ल्याउने गर्छ ।

गत वर्ष कम्पनीले प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका बिक्री गरेको थियो । कम्पनीले उपत्यकामा घटस्थापनाको दिनदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गर्छ ।

दशैँमा उत्यकामा मात्रै ५० हजार खसीबोका खपत हुने गर्छ । निजी व्यवसायीले नेपालका विभिन्न जिल्लाबाट सङ्कलन गरेर उपत्यकामा ल्याउने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा भारत र चीनबाट पनि खसीबोका आयात हुने आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Life
kumari