चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ३.९८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसैगरी चालू आ.व.मा प्रतिव्यक्ति आम्दानी १ हजार १ सय ९६ डलर पुग्नेछ । प्रतिव्यक्ति आय गत आवमा १ हजार १ सय ३९ पुगेको थियो ।
चालू आर्थिक वर्षको राष्ट्रिय लेखासम्बन्धी विवरण सार्वजनिक गर्दै विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकांकका आधारमा यो प्रक्षेपण गरेको हो । यसअघि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ७ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने आँकलन गरेको थियो ।
आर्थिक वर्ष २०७६र७७ मा १।९९ प्रतिशतले आर्थिक वृद्धि ऋणात्मक भएको थियो । गत वर्ष कोभिडकै बीचमा तथ्यांक विभागले २।२७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
विभागका निर्देशक गणेशप्रसाद आचार्यका अनुसार चालू आवमा नेपालको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब ६२ करोडको हुनेछ । गत आर्थिक वर्ष २०७६र७७ मा नेपालको अर्थतन्त्र ३९ खर्ब ४३ अर्ब पुगेको थियो ।
यसैगरी, चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १३ खर्ब १२ अर्ब ७१ करोड ३० लाख रुपैयाँको हुनेछ । यो कुल जीडीपीको २७ दशमलव २६ प्रतिशत हुनेछ ।
यसैगरी, चालू आर्थिक वर्षमा कुल उपभोग खर्च ३९ खर्ब ८३ अर्ब ९७ करोड रुपैयाँबराबरको हुने प्रक्षेपण रहेको छ । यो आर्थिक वर्षमा जीडीपीको ५ प्रतिशत मात्र निर्यात हुनेछ । आजको राजधानी दैनिकबाट























