stcnepal long ad
global ime bank long

कोरोनाले रोजगारी खोसिने चिन्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ ।

त्यसो त १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सरकारले बढ्दो कोरानाको जोखिमका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा, आंशिक बन्द भएकाले श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअलबाहेक अन्य औपचारिक कार्यक्रम गर्न सम्भव नभएको जानकारी दिएका छन् ।

अघिल्लो वर्ष कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेका थिए । नेपालमा मात्र होइन, संसारभरि नै । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका थिए ।

ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि रु भन्ने चिन्ता श्रमिकसमक्ष पुनः उत्पन्न भएको छ ।

भर्खर मात्रै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर प्रत्यक्ष रूपमा सातरआठ लाखले रोजगारी गुमाउने अवस्था आउने प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईटीयूसीले यस अवधिमा विश्वमा एक करोड ३० लाखले रोजगारी गुमाउने प्रक्षेपण गर्दै नेपाल जस्ता श्रमिक निर्यात गर्ने देश अझै बढी प्रभावित हुने भएकाले श्रमिकको रोजगारी सुरक्षाका लागि ट्रेड युनियनलाई सतर्क रहनसमेत आग्रह गरेको छ ।

त्यसो त आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुुई करोड ५० लाख रोजगारी गुमेकोमा त्यस अवधिमा १० लाखले नेपालमा रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो । नेपालका ट्रेड युनियनकर्मीहरूले गत वर्ष कोरोनाका कारण विदेश र स्वदेश कै होटल, पर्यटन, उद्योग, प्रतिष्ठानलगायत स्वरोजगार गरेर आईटीयूसीले प्रक्षेपण गरेभन्दा बढी नेपालीले रोजगारी गुमाएको दाबी गरेका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष जगत सिंखडाले अघिल्लो वर्षझै श्रमिकले काम छोड्नुपर्ने अवस्था आएमा श्रमिकलाई सरकारले थेग्न नसक्ने बताउनुभयो । जेटीयूसीसीले कोरोनाका कारण श्रमिकले भोगेका र अब भोग्नुपर्ने साझा समस्या सम्बोधन गर्नुपर्ने विषयमा तीनै तहका सरकार, निजी क्षेत्र, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाइसकेको उहाँले जानकारी दिनुभयो ।

श्रम ऐन २०७४ को दफा १४५ लाई टेकेर अघिल्ला वर्ष कोरोनाको कारण देखाउँदै थुप्रै श्रमिक रोजगारबाट निकालिएकाले यो समस्या फेरि पनि आउन सक्नेप्रति सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले कोरोनाका कारण श्रम कटौती गरे पनि श्रमिकको रोजगार कटौती गर्न नपाइने विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । गत वर्ष कोरोनाको कारण देखाउँदै अधिकांश रोजगारदाता प्रतिष्ठानले श्रमिकको रोजगारी कटौती गरेकाले यस पटक त्यो समस्या नदोहो(याउन उहाँले आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोना भाइरसको दोस्रो महामारीमा नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामना गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असङ्गठित एवं स्वरोजगार श्रमिकलाई समेत सम्बोधन गरी कार्यान्वयन गरिनुपर्ने पनि आवश्यकता उहाँले औँल्याउनुभयो ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस वा मे १ मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व श्रमिक दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत श्रमिकमाथि व्यापक दमन ग(यो ।

प्रहरीको गोली लागेर सात श्रमिकको मृत्यु भयो । श्रमिक आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari