राज्यमन्त्री दुगडको उद्योगमाथि छानबिन सुरु
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रा लि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।
राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रा लि’ले कानुन बमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।
सचिव अर्यालले राज्यमन्त्री दुगडको उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिए नलिएको विषयमा छानबिन गरिने बताए । उनले विभागबाट अनुज्ञापत्र लिएको छैन भने कानुन बमोजिम कारबाहीका लागि अघि बढाइने बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुन विपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए ।
मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री भट्टले आफू तीन दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए ।
उनले भने, ‘म काठमाडौं आएपछि यो विषयमा जानकारी लिन्छु । अहिले यो विषयमा मलाई केही थाहा नभएकाले कारबाही हुन्छ या हुँदैन, केही भन्न सक्दिनँ । तर, उद्योग कानुन बमोजिम सञ्चालन भएको छैन भने मन्त्री भए पनि कारबाही हुन्छ ।’
राज्यमन्त्री दुगडले नुनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौखिक सम्झौता भएको बताएका थिए । तर, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नुनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताए । झाले कुनै पनि व्यापारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले नुन प्याकेजिङ गरी आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न दिने कानुनी अधिकार नै नभएको बताए ।
उनले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनले व्यापारीलाई आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न अनुमति दिन सरकारको निर्णय र निर्देशन हुनुपर्छ । हामीलाई सरकारबाट कुनै निर्देशन आएको छैन । साल्ट ट्रेडिङलाई सरकारले वर्षौंदेखि आम नागरिकलाई देशैभरि आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।’, यो समाचार राजधानी दैनिकमा छापिएको छ ।
























