सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो, सशस्त्रमै भर्ना भएका इन्सपेक्टर पहिलो पटक डीआईजी बन्दै
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई १९ माघको मितिले सात दिनभित्र आवश्यक कागजात बुझाउन भनिएको छ ।
सशस्त्र प्रहरीमा गत वैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षकको चार ओटा पद रिक्त रहेकोमा ती पदमा बढुवा गर्न लागिएको हो । यद्यपि, बढुवा समितिको सचिवालयको सूचनामा भने केही रिक्त पद भनिएको छ ।
अबको बढुवामा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका पहिलो ब्याचका कम्तीमा तीन जना पर्ने निश्चितप्रायः छ । नेपाल प्रहरी र नेपाली सेनालाई सम्मिलित गराएर गठन गरिएको सशस्त्र प्रहरी बलमा २६ कात्तिक २०५९ मा पहिलो पटक ९ जना सशस्त्र प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयताका क्रममा पहिलो नम्बरमा कृष्णराज पाठक छन् । १ मंसिर २०५४ मा नेपाल प्रहरीको प्राविधिक नायव निरीक्षक (सई) का रुपमा प्रवेश गरेका पाठक डीआईजीमा बढुवा हुने सम्भावना कम छ । उनको कमजोर कार्यसम्पादनका कारण उनलाई बढुवा गर्न नहुने मत पनि सशस्त्र प्रहरीमा बलियो छ ।
उनको बढुवा नभएको अवस्थामा भने सशस्त्र प्रहरीको पहिलो व्याचका ‘फ्रेस’ चार जना निरीक्षक ९हाल वरिष्ठ उपरीक्षक० डीआईजी बन्ने छन् ।
हाल सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयतामा पाठकपछि सिसं १ व्याचका दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोखरेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।
प्रहरीबाट स्थानान्तरण भई आएका पाठक बढुवामा नपरेको अवस्थामा शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा र पोखरेल डीआईजी बन्ने निश्चितप्रायः रहेको स्रोतको दाबी छ । पाठक बढुवा भएको अवस्थामा भने शाह, श्रेष्ठ, थापा र पोखरेलमध्ये एक जना छुट्ने छन् ।
सशस्त्र प्रहरी निरीक्षकमा भर्ना हुँदा आठौं नम्बरमा रहेका शाह सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० को बढुवामा दोस्रो नम्बरमा आउन सफल भएका थिए ।
सशस्त्र प्रहरी उपरीक्षकसम्म एक नम्बरमा बढुवा हुन सफल भएका सुरेशकुमार श्रेष्ठ वरिष्ठ उपरीक्षक (एसएसपी) मा भने दोस्रो नम्बरमा झरेका थिए । पहिलो नम्बरमा शाह आउन सफल भएका थिए । उनलाई सशस्त्र प्रहरीमा इमान्दार र कामप्रति बफादार अधिकृतका रुपमा चिनिन्छ ।
सशस्त्र प्रहरी निरीक्षक र नायव उपरीक्षकमा दोस्रो नम्बरमा रहेका पोखरेललाई एसपीको बढुवामा भने सशस्त्र प्रहरीको तत्कालीन नेतृत्वले पाँच नम्बरमा पु¥याएको थियो । यद्यपि, एसएसपी बढुवामा भने उनी चौथो नम्बरमा उक्लिएका थिए ।
उनलाई सशस्त्र प्रहरीमा कामप्रति बफादार, बौद्धिक र इमान्दार व्यक्तिका रुपमा चिनिन्छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा उनको नेतृत्वमा रहेको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार सर्वोत्कृष्ट भएको थियो ।
सशस्त्र प्रहरी नियमावली र हालको संरचनाले यो पटक बढुवा भएका सिसं १ का अधिकृतहरु सशस्त्र प्रहरीको नेतृत्वमा पुग्ने सम्भावना देखिदैन ।
डीआईजीको चार जोड एक वर्षको व्यवस्थाका कारण उनीहरु डीआईजीमै घर जाने छन् । तर, त्यसबेलासम्म सशस्त्र प्रहरी नियमावली र संरचना परिवर्तन हुनसक्ने भएकाले एक जना नेतृत्वमा पुग्ने सम्भावनालाई नकार्न सकिदैन ।
चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको डीआईजीमा बढुवा भएपछि रिक्त हुने ती पदमा एसपीहरु राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनियाँ, धु्रव कार्की, रमेशकुमार पाण्डे दाबेदार रहने छन् । वरीयतामा उप्रेती, श्रेष्ठ र खनिया एकदेखि तीन नम्बरमा छन् ।
यस्तै, चार जना एसपीको बढुवा भएपछि सात ओटा एसपी पद रिक्त हुने छ । आगामी २८ चैतमा दुई जना एसपी घर गएसँगै एसपीको ९ ओटा पद रिक्त हुने छ । त्यसबेला सिसं ३ का ९ जना डीएसपीको एसपीमा पदोन्नत्ति हुने छ । आजको राजधानी दैनिकमा समाचार छ ।