citizens life insurance long ad
stcnepal long ad

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उहाँले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

“बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,” उहाँले भन्नुभयो, “आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।”

मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिनुभयो । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष (आइसियु) शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो । “विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्”, उहाँले भन्नुभयो । मन्त्री गिरीले विभागमा रहेका महाशाखाले आफूमा भएको कमिकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई पारदर्शि र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिनुभयो ।

विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराउनुभएको थियो । अनुगमनका क्रममा महाशाखाका निर्देशकले आफ्नो महाशाखाका दिने सेवाका बारेमा मन्त्री गिरीलाई जानकारी गराउनु भएका थियो ।

IME Life
kumari