कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा प्रधानमन्त्रीद्वारा शुभकामना
काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६१औँ वर्ष प्रवेशको सुखद अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्रीले शुभकामना दिनुहुँदै सम्पूर्ण सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताका कारण कोष सम्पूर्ण कर्मचारीहरूको लागि सहयोगीको रूपमा स्थापित भएको बताउनुभयो ।
हाल सञ्चय कोषमा पाँच लाख ५५ हजार योगदानकर्ता रहेका छन् भने २७ हजार ८ सय योगदानकर्ता कार्यालय रहेका छन् ।
यी मध्ये निवृत्तिभरण कोष योगदानकर्तामा ४५ हजार ८ सय ५० र योगदानकर्ता कार्यालय १ हजार ९ सय ५० रहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ सम्मको वित्तीय अवस्था सञ्चय कोष रु ४१६ अर्ब ३६ करोड र निवृत्तिभरण कोष रु ३ अर्ब १७ करोड रहेको छ ।
त्यसै गरी जगेडा कोष तथा बचत रु ३४ अर्ब २० करोड र दायित्वहरू रु ५ अर्ब ७० करोड गरी कूल स्रोत रु ४५ ९ अर्ब ४३ करोड रहेको कोषले जनाएको छ । यता कूल लगानी रु ४४८ अर्ब ६४ करोड रहेको छ ।
सञ्चयकर्ताकै कारण देशको अर्थतन्त्रमा सहयोग पुगेकोले नयाँ योजनाहरू साथ अझै प्रभावकारी सेवा दिँदै अघि बढ्न प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।
कोषको कामको सन्तुष्टि प्रति सदैव समर्पित रहने सङ्कल्पसहित कोषका सेवा तथा सुविधालाई थप गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता कोषका निमित्त प्रशासक जितेन्द्र धितालले दिनुभयो ।

























