चार्डपर्वको बेला चिनी अभाव हुने
काठमाडौं। नेपालीहरूको चाडपर्व नजिकिँदै गर्दा पनि सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।
, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि दुई महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि चिनी खरिद प्रकृया अगाडि बढ्न नसकेको हो ।
वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिएकी छिन ।
भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा दुई महिना अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव पेस गरेको थियो ।
यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुन सक्ने देखिएको छ । चिनी मिलहरूले किसानलाई उखुको रकम तीन वर्षसम्म नदिएपछि उखु किसानहरूले आफ्नो खेतमा अन्य बाली लगाउन पुगेपछि चिनी उत्पादन कम भएको छ।
अर्थ मन्त्रालयका उपसचिव कमलकुमार भट्टराईले चिनी खरिदका लागि स्वीकृति माग गरिएको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन ।
उनले भने – “चिनी खरिदको विषयमा मन्त्रालयमा धेरै पटक छलफल भए पनि अहिलेसम्म चिनी के कति परिमाणमा खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ५० हजार टन चिनी खरिद गर्न गत २०७९ असारमा अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।
अर्थ मन्त्रालयले चिनी खरिदको स्वीकृत नदिँदा चिनी आयात गर्न ढिलाइ भएको बताइएको छ । जसले गर्दा यो वर्ष दशैंतिहारमा बजारमा चिनीको अभाव हुने र उद्योगी तथा व्यापारीले मूल्यमा चलखेल गर्ने सम्भावना बढेको छ ।
मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनबाट ४० हजार टन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट १० हजार टन गरी ५० हजार मेट्रिक टन भन्सार छुटको चिनी ल्याउने गरी अर्थ मन्त्रालयसँग सहमति मागेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गोदाममा चिनी स्टक सकिएर चिनी बिक्री गर्न छोडेको छ महिना भइसकेको छ ।
अघिल्लो वर्ष अनुदानको चिनी खरिद गर्न नपाएको कर्पोरेसनले २०७७ सालमा २० हजार टन अनुदानको चिनी ल्याएको थियो। त्यो चिनीको मौज्दात सकिएपछि चिनी बिक्री गर्न पाएको छैन ।
चाडपर्वमा बजारमा चिनीको माग बढ्ने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने सम्भावना बढेको छ। बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पोरेसनमार्फत भन्सार छुटमा चिनी आयात हुँदै आएको थियो ।
तर, गत वर्ष अनुदानको चिनी खरिदका लागि अर्थले स्वीकृति नदिएपछि चिनी आयात भएको थिएन।
यो वर्षका लागि अहिलेसम्म अनुदानको ५० मेट्रिक टन चिनी खरिद गर्ने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन । अहिले साल्ट ट्रेडिङ र खाद्य कम्पनी दुबै कम्पनीसँग चिनी छैन ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपियाँसम्म पुगेको छ ।
कर्पोरेसनका अनुसार चिनी आयात गर्न टेन्डर गर्न ४५ दिन प्रक्रियामा लाग्छ । कहिलेकाहीँ पहिलो टेन्डरमा आवेदन नपरेर दोस्रो पटक पनि टेन्डर गर्नुपर्छ ।
कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले भने– ‘गत वर्ष चिनी खरिदको स्वीकृति दिइएन । यो पटकका लागि पनि अहिलेसम्म स्वीकृति नआएकाले दशैंअघि चिनी खरिद गर्नसक्ने सम्भावना टर्न थालेको छ’।
वाणिज्य मन्त्रालयका सहप्रवक्ता केसीले एक साताभित्र चिनी खरिदको स्वीकृत नआएमा दशैंसम्म भन्सार छुटको चिनी नआउने बताइन । उनले भनिन्– “चिनी खरिदका लागि अहिलेसम्म स्वीकृति नै भएको छैन, स्वीकृत भइहाले पनि मन्त्रिपरिषदमा पेस गर्नुपर्ने हुन्छ ।”
यो वर्ष एक लाख टन चिनीको उत्पादन कम भएको चिनी उद्योगीहरूले बताएका छन । मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग रहेकोमा यो वर्ष एक लाख टन मात्र उत्पादन भएको चिनी उत्पादक संघले जनाएको छ ।
गत वर्षदेखि नै चिनी उत्पादनमा कमी आएको छ । उद्योगीका अनुसार गत वर्ष ८० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । देशमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग छ ।
बजारमा तीन महिनाअघिदेखि नै चिनीको मूल्य बढेको छ । बजारमा प्रतिकेजी १०५ देखि ११० रुपियाँ खुद्रा मूल्य रहेको छ ।
खुद्रा व्यवसायीले पसलपिच्छे फरक–फरक मूल्य लिदा उपभोक्तालाई असर परेको छ । चिनीको अभाव भयो भने चिनीको अझै मूल्य बढने र कृतिम अभाव समेत हुने देखिन्छ। तिज,सोह्र श्राद्व, दशैं,तिहार र छठ पर्वका बेला चिनीको माग बढने गरेको छ।


























