विद्युत प्राधिकरण १६ अर्ब १६ करोड खुद मुनाफामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले त्यहाँका कर्मचारीलाई बोनसको आश नगर्न भनेकी छन् ।
प्राधिकरणले गत आर्थिक वर्षमा मनग्गे नाफा आर्जन गरेको हुँदा बोनस पाउनुपर्ने बताइरहँदा उनले सरकारले तलब बढाएको हुँदा त्यता नसोच्न आग्रह गरेकी हुन् ।
प्राधिकरणको ३७ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री भुसालले नाफाको अंक बढाउन बरु इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरेकी छिन् ।
प्राधिकरणका आगामी दिन सुनौला हुनुका साथै चुनौतीपूर्ण पनि रहेको हुँदा यसतर्फ सबै कर्मचारी चनाखो हुनुपर्ने बताइन ।
सरकारले १५ प्रतिशतका दरले सबै सरकारी कर्मचारीको तलब सुविधा बढाइदिएको हुँदा त्यसमाथि पुनः बोनस पाउनुपर्ने माग उचित नरहेको उनले भनाइ थियो ।
‘प्राधिकरण भर्खर नाफामा जाँदैछ, त्यो नाफा गुणस्तरीय सेवा विस्तार, सेवाको पहुँच र पूर्वाधारमा खर्च गर्नुपर्छ। तपाईं कर्मचारीलाई मात्र बोनस दिएर हुँदैन, अरब र खाडीमा गएर दुःख गर्ने नागरिकका लागि पनि सोचिदिनुुस् ’ उनले भनिन।
सबै सार्वजनिक संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई बोनस सुविधा दिने गरेको उल्लेख गर्दै प्राधिकरण सम्बद्ध ट्रेड युनियन कर्मचारीका नेताले सोको माग राखेका थिए । मन्त्रीले भने सोझै बोनस दिन नसकिने र त्यसको आश गर्न जरुरी नरहेको पनि स्पष्ट पारेकी छिन् ।
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । साथै संस्थाको वार्षिक आम्दानी १ खर्ब रुपैयाँ नाघेको छ, विद्युत चुहावटबाट मात्र २ अर्ब रुपैयाँ आम्दानी गरेको छ, ९३ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको लगायत विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
सोही क्रममा मन्त्री भुसालले प्राधिकरणमा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीका रूपान्तरण गर्ने निर्णय भएको र यससम्बन्धी कार्यविधि बनाएर छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिएकी छिन् ।
कर्मचारीहरूको सेवा सुविधा र प्रोत्साहनमा आफू संवेदनशील रहेको तर केन्द्रमा बसेर कार्यस्थलको भत्ता खाने, भ्रष्टाचारजन्य गतिविधि गर्ने प्रति आफू कडा रूपमा प्रस्तुत हुने बताएकी छिन् ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नाफा आर्जन गर्न सबैभन्दा बढी योगदान ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको रहेको छ । साथै गत आर्थिक वर्षमा विद्युत प्रणालीमा ७३५ मेगावाट विद्युत थप भएको छ। जसमध्ये २७९ मेगावाट निजी क्षेत्रको रहेको उल्लेख गरिएको छ ।
हालसम्म विद्युत प्रणालीमा कूल जडित विद्युत क्षमता २१९० मेगावाट रहेको छ। विद्युत उपभोग गर्ने ग्राहक (सामुदायिक समेत) ५३ लाख र प्रतिव्यक्ति ऊर्जा खपत ३३० युनिट पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत वर्ष प्राधिकरणको आफ्नो विद्युतगृहबाट १६ प्रतिशत विद्युत बढी उत्पादन भएको थियो, सोही अवधिमा ४५५ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको पनि जनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा कर्मचारीका माग तथा गुनासाहरू सम्बोधन गर्दै संस्थालाई अझ नाफामूलक बनाउने प्रतिबद्धता जनाएका छन।
यसै आवदेखि प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेड कम्पनीले विद्युत निर्यात सुरु गर्ने पनि जानकारी दिएको छ।


























