stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा फेरि तालाबन्दी

परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।

पछिल्लो समय नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको छ ।

गत असार २७ गते लगाइएका ती ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएका छन् ।

यसअघि त्रिविका उपकुलपति, रजिष्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घ र शिक्षकहरूले १४० दिन ताला लगाएका थिए । उक्त तालामध्ये नेविसङ्घले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।

तालाबन्दीका कारण कार्यालय छिर्न नपाएपछि रजिष्ट्रार प्राध्यापक डा। पेशल दाहाल कहिले शिक्षाध्यक्षको कार्यालय र कहिले कार्यकारी परिषद्को कार्यालय गएर दैनिक सामान्य काम गर्दै आउनुभएको छ । ताला लागेका अन्य कार्यालयका प्रमुखले पनि दैनिक कार्य सञ्चालन गर्न पाउनुभएको छैन ।

व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा। कुसुम शाक्यले तालाका कारण दैनिक प्रशासन सञ्चालन भए पनि खुलाउने विषयमा आन्दोलनकारीसँग छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या त्रिवि नेतृत्वबाटै समाधान हुनुपर्छ ।

ताला खुलाउने वा परीक्षामा अमर्यादित काम गर्नेलाई कारबाही गर्ने विषयमा मेरो कसैसँग पनि छलफल भएको छैन ।”

मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन सङ्कायको डिन कार्यालयले सञ्चालन गरेको स्नातक तथा स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र निर्माणमा लापरवाही गर्नेलाई कारबाही हुनुपर्ने माग विद्यार्थीको छ ।

साथै यस सम्बन्धमा अध्ययन गर्न गठन भएका समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि उनीहरूको माग छ ।

यसअघि प्रश्नपत्र निर्माणमा लापरवाही गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

त्यस्तै त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षा सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको थियो ।

त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको अर्गनाइजेसन विहेविअर विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गरेको थियो ।

त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न सोसोलोजी फर बिजनेस विषयको सोधिएको थियो ।

बीबीए छैटौँ सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डिन कार्यालयको प्रश्नपत्र बैङ्कमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए ।

त्रिविका अनुसार व्यवस्थापन सङ्कायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न असार २९ गते प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो तर उक्त समितिको काम कारबाहीबारे त्रिविले केही जानकारी दिएको छैन ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long