५० करोड ठगी मुद्दामा ६ जनालाई सफाइ
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले आरोपित लम्बोदर न्यौपाने सहित ६ जनालाई सफाइ दिएको छ । न्यौपाने सहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको दाबी गरिएको थियो ।
सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा माग दावी गरिएको थियो ।
त्यस्तै प्रतिवादीहरू रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, लवराज भट्टराईबाट ६ करोड ३४ लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने माग दाबी थियो ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैं दाबी नपुग्ने ठहर गरेको हो ।
कलेजका प्राचार्य डा। हरिकृष्ण श्रेष्ठको जाहेरीका आधारमा २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा सो मुद्दा दर्ता भएको थियो ।


























