citizens life insurance long ad
stcnepal long ad

चिया तथा कफी बोर्डका निर्देशकसहित चार जना कर्मचारी विरुद्ध मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत ४ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टङ्क प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

 

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २०७२/०६/०२ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूलाई नियुक्ति दिएकोले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए ।

बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको, दरखास्त स्वीकृत गर्ने कर्मचारीहरूले प्रचलित कर्मचारी सेवा सम्बन्धी नियमावली, २०६५ को अनुसूची–३ तथा मिति २०७२/०६/०२ गतेको सूचनामा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारामहरू ठिक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको आयोगको ठहर छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) मा सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनु पर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियत पूर्वक भए गरेका कुरा लुकाई छिपाई वा नभए गरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

IME Life
kumari