विश्व स्वास्थ्य संगठनका महानिर्देशक र दक्षिण–पूर्व एसियाका लागि क्षेत्रीय निर्देशक नेपालको दुई दिने भ्रमणमा
काठमाडौं । नेपाल – विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस् र दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंह औपचारिक भ्रमणका क्रममा आज काठमाण्डौ आइपुग्नुभएको छ ।
भ्रमणको पहिलो दिन आज नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डव र देशिय रणनीति तथा सहयोग विभागका निर्देशक डा. शम्भु आचार्य सम्मिलित विश्व स्वास्थ्य संगठनको नेतृत्व टोलीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्र मन्त्री नारायण खड्का र राष्ट्रिय सभा अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिनासँग भेट गरेको छ ।
स्वास्थ्य मन्त्रीसँगको भेटमा महानिर्देशकले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्यअनुसार सन् २०२२ को मध्यसम्ममा कूल लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने उद्धेश्य हासिल गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्नुभयो र जनस्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ तुल्याउने सहितका अन्य प्राथमिकताका क्षेत्रहरुमा नेपाललाई सहयोग गर्ने विश्व स्वास्थ्य संगठनको प्रतिबद्धता दोहो¥याउनुभयो ।
डा. टेड्रोसले नेपालको समग्र कोभिड–१९ महामारी प्रतिकार्य र स्वास्थ्यमा विश्वव्यापी पहुँच हासिलका लागि गरिएका प्रयासहरुको प्रशंसा गर्नुभयो ।
यसैगरी, डा. पूनम खेत्रपाल सिंहले टाइफाइड कन्जुगेट खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने यस क्षेत्रको पहिलो देश भएकोमा नेपाललाई बधाई ज्ञापन गर्नुभयो ।
सन् २०२० मा यस क्षेत्रका सदस्य राष्ट्रहरुले अवलम्बन गरेको संकल्प अनुरुप अत्यावश्यक स्वास्थ्य सेवाको सुदृढीकरणमा नेपालले गरेको प्रयास उल्लेखनीय भएको उहाँले बताउनुभयो ।
बहुक्षेत्रीय कार्ययोजनाको अनुमोदन र सेफर इनिसियटिभको शुभारम्भ गरेबाटै नसर्ने रोगको सम्बोधनमा नेपालको प्रतिबद्धता स्पष्ट भएको क्षेत्रीय निर्देशकले बताउनुभयो ।
डा. सिंहले रोग उन्मुलन, मातृ, नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकामा हुने मृत्युदर घटाउने र स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउने लगायतका मुद्धाहरुमा तीब्रताका साथ काम गर्नुुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिमण्डलले त्यसपछी परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महानिर्देशक र क्षेत्रीय निर्देशकलाई अभिनन्दन गर्दै, विश्व स्वास्थ्य संगठनबाट नेपाललाई प्राप्त निरन्तर सहयोग तथा कोभिड–१९ महामारीको समयमा सांसदहरुसँग श्रृङ्खलाबद्ध अन्तरक्रियाहरु संचालन गर्न गरेको फलदायी सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।
कोभिड–१९ महामारी प्रतिकार्यमा नेपालले अपनाएको समग्र समाजको अवधारणा र स्वास्थ्यलाई संविधानमा आधारभूत मानव अधिकारको रुपमा मान्यता दिएकोमा महानिर्देशकले नेपालको प्रशंसा गर्नुभयो ।
महानिर्देशक नेतृत्वको विश्व स्वास्थ्य संगठनको प्रतिनिधिमण्डलले भोली वैशाख ९ गते राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिमण्डलले त्यसपछि एक स्थानिय विद्यालयमा गई जारी टाइफाइड कन्जुगेट खोप अभियानको अवलोकन गर्नुका साथै स्वास्थ्यसंस्थाहरुको भ्रमण गर्नेछ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउनु भएको हो ।


























