citizens life insurance long ad

प्रशोधित खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । युक्रेनमाथि रुसले गरेको सैनिक हमलाले नेपालको बजारमा समेत मूल्य वृद्धिको प्रत्यक्ष असर देखिएका चर्चा गर्दै नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले प्रशोधित खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह गरेको छ ।

सङ्घले आफ्ना सदस्य उद्योगलाई कृत्रिम अभाव नगरी खाने तेलको आपूर्तिलाई सुचारु राख्न आग्रह गरेको हो । सङ्घले उपभोक्तालाई समेत अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेन र रुसबीचको युद्ध मत्थर हुने बित्तिकै कच्चा तेलको आयात सामान्य हुने भएकाले आम उपभोक्तालाई अनावश्यक तेल खरिद गरेर घरमा नराख्न आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालमा खाने तेल शतप्रतिशत आयातमा निर्भर रहेको र ती देशमा चलेको युद्धका कारण कच्चा पदार्थको मूल्य नियन्त्रणबाहिर गएकाले युद्ध सल्टिनेबित्तिकै मूल्य घट्ने जानकारी दिनुभयो ।

सङ्घका अनुसार उद्योगलाई चाहिने कच्चा सनफ्लावर तेल ९५ देखि शतप्रतिशत र तोरीको दाना ६० देखि ८० प्रतिशत युक्रेनबाट आयात हुन्छ । युद्धका कारण आयात रोकिएपछि बजार पूर्ण रूपमा प्रभावित बनेको छ । सङ्घमा हाल २२ वटा तेल उत्पादक उद्योग आबद्ध छन् ।

सङ्घका अध्यक्ष अग्रवालले बजारमा सनफ्लावर तेलको अभाव भए पनि सोयाबिन र तोरीको तेल अभाव हुन नदिने बताउनुुभयो । ती उद्योगले सनफ्लावर युक्रेनबाट, सोयाबिन र तोरीको कच्चा पदार्थ अर्जेन्टिना, अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूकेबाट आयात गर्छन् तर दुई मुलुकबीच भइरहेको युद्धले विश्वमै प्रभाव पारेको छ, जसले गर्दा क्रुड आयलको मूल्यमा ४० देखि ५० प्रतिशतसम्म वृद्धि भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार मार्च २०१९ मा औसत ७०० डलर रहेको बजार मूल्य जनवरी २०२२ मा एक हजार ५०० डलर पुगिसकेको थियो । रुस र युक्रेनको युद्धले थप प्रभावित बनाएको छ । सङ्घको विज्ञप्तिका अनुसार ती देशबीचको युद्धकै कारण सप्लायर्सले फेब्रुअरी, मार्चदेखि चलानी हुने सबै सनफ्लावर र तोरीको दाना सौदारचलान रद्द गरेका छन् । अन्य तेलका लागि सिपमेन्टमा विलम्ब रहेको सूचना सम्बन्धित आयातकर्तालाई दिइएको छ ।

त्यसैगरी जनवरी २०२२ मा क्रुड सोयाबिन तेल प्रतिमेट्रिक टन एक हजार ४५० डलर रहेकामा मार्चमा एक हजार ८६८ डलर पुगेको छ । क्रुड सनफ्लावर तेल एक हजार ४६० डलरबाट बढेर दुई हजार १२५ डलर पुगेको सङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari