प्रेस चौतारीको अध्यक्षमा पुन: बस्नेत चयन
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै आशिर्वादमा बस्नेत फेरि अध्यक्ष चयन भएका छन् ।
पोखरा । नेकपा (एमाले) निकट पत्रकारको संगठन ‘प्रेस चौतारी नेपाल’ को अध्यक्षमा गणेश बस्नेत पुनः निर्वाचित भएका छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै आशिर्वादमा बस्नेत फेरि अध्यक्ष चयन भएका छन् ।
अध्यक्ष ओलीले उदघाटन समारोहमा बस्नेतलाई दोहोर्याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन। यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनु होला ।’
यसरी उदघाटन सभामै अध्यक्ष ओलीले बस्नेतलाई रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो गृह जिल्ला लमजुङका गणेश पाण्डेलाई उपाध्यक्षमै रहेर काम गर्न सहमत गराएका थिए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेशनबाट पाण्डे नै अध्यक्ष हुने अनुमान गरिरहेका थिए ।
महाधिवेशन प्रतिनिधिहरू निर्वाचनबाट भएपनि नेतृत्व फेर्ने पक्षमा रहेका थिए । तर, प्रतिनिधिको मनोभावना विपरित एकताका नाममा नेतृत्वबाट टिका लगाएर नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा बस्नेतसहित पदाधिकारीको टुंगो लागेको छ ।
उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्तीलाई चयन गरिएको निर्णय सुनाएर तालि बजाइएको छन् । राति अबेर गरी पदाधिकारीको टुंगो लागेको थियो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता सहित राति ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने थियो । तर उम्मेद्वारी दर्ता नै नभई पदाधिकारीको टुंगो लगाइएको छ ।
संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । तिवारीले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् ।
घोषित कमिटीको महासचिवमा हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिएका छन । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था रहेको छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमती प्रदेशबाट विष्णु तारुके, गण्डकी प्रदेशबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बनेका छन ।
प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएको घोषणा गरिएको छ । अध्यक्षमा चार जनाको दावी रहेको थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका थिए ।




















