वडा २१ गोफः टोलमा ज्यापू समाजको त्वाः छेँ (सामुदायिक भवन) उद्घाटन
जनताले महानगरसँग गरेका अपेक्षा पूरा गरिरहेका छौँ –मेयर शाक्य
काठमाडौं । गोफः त्वाः माकः गल्ली ज्यापू समाजको सामुदायिक भवन उद्घाटन भएको छ । शनिबार महानगरका मेयर विद्यासुन्दर शाक्यले पुननिर्मित भवनको उद्घाटन गर्नुभएको हो । करीब ६४ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन साढे ६ तलाको छ । कुल लागतमा १५ प्रतिशत खर्च उपभोक्ताकाले व्यहारेका छन् ।
सामुदायिक भवनमा परम्परागत बाजा राख्ने, प्रशिक्षण गर्नेलगायत सामाजिक र सांस्कृतिक क्रियाकलाप हुने छन् । भवन उद्घाटनपछि बोल्दै मेयर शाक्यले, जनताले महानगरसँग गरेका अपेक्षा पूरा गराउन आफू प्रयासरत रहेको बताउनुभयो ।
‘आँग छेँः, त्वा छेँःजस्ता भौतिक संरचनाहरुले काठमाडौँको सांस्कृतिक, धार्मिक चालचलनको निरन्तरताका जग हुन् । गुठीयारहरुलाई परम्परा धान्न चाहिने यस्ता संरचना पुननिर्माण कार्यलाई प्राथमिकता दिएका छौँ ।
२०७२ सालको भूकम्पले संरचना जीर्ण भएपछि खिन्न भएका गुठीयारहरुको मुहारमा खुशी देखेको छु । यसले हामीलाई पनि सन्तुष्टि दिएको छ ।’
सम्पदा र संस्कृतिसँग सम्बन्धित जात्रा, पर्व, संस्कार, तथा चालचलनलाई जोगाउनु महानगरको दायित्व हो । यो विषय राजनीतिभन्दा माथिको विषय हो । उद्घाटन अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सम्पदा बचाउने र महानगर बनाउने काममा हामीले सर्वसम्मत निर्णय गरेर काम गरेका छौँ । यसबाट महानगरबासीमा लाभ पुग्न थालेको छ ।’
त्यस क्रममा २१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, महामारीका कारण आफ्ना कार्यकालमा काम गर्न चुनौती रहेको बताउँदै जति काम भएको छ, त्यो सम्झना योग्य भएको धारणा राख्नुभयो ।
भवनको पुननिर्माणका लागि २०७७ साल मंसिर २६ गते मेयर शाक्यले शिलान्यास गर्नुभएको थियो ।




















