पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ८ महत्वपूर्ण निर्णय
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको चौथोँ पूर्ण बैठक आज माघ ५ गते बुधबार अध्यक्ष श्रीजन झाको अध्यक्षतामा प्रदेश कार्यालय अनामनगरमा बसेको छ। बैठकले महत्वपूर्ण निर्णय गरेको छ, जुन यश प्रकार छ।
१, कोरोनाको नयाँ भेरियण्टको संक्रमण तिब्र रुपमा फैलिएसँगै ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसीसी) लाई पुनः सक्रिय बनाएर पत्रकार तथा सञ्चारकर्मीहरुको सहयोग लागि समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।
२, कोभिडको नयाँ भेरियण्टको संक्रमण उच्च रहेकाले सावधानी अपनाएर रिपोर्टिङ तथा सञ्चारकर्ममा खटिन सबै पत्रकार तथा सञ्चारकर्मीहरुमा आग्रह गर्ने निर्णय गरियो ।
३, नेपाल पत्रकार महासंघको विधान विपरित प्रदेशको सिफारिस बिना, प्रदेशलाई जानकारी समेत नदिई केन्द्रिय कार्यालयबाट सदस्यता स्थान्तरण, नविकरण लगायतका कार्य भएको जानकारीमा आएकाले यस्ता कार्य अविलम्ब रोक्न केन्द्रसँग माग गर्ने निर्णय गरियो । साथै, प्रदेशको हक अधिकार हनन् हुने कुनै पनि क्रियाकलाप नगरी प्रदेशलाई मजबुत बनाउने भूमिका निर्वाह गर्न केन्द्रसँग माग गर्ने निर्णय भयो ।
४, सूचना तथा प्रसारण विभागबाट यसअघि प्रदान गरिदैं आएको लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको भुक्तानी लगायतको काम हाल विज्ञापन बोर्डबाट गरिदैं आएपनि समयमै भुक्तानी नगर्ने, आफैंले पेज तोक्ने, सेवा सुविधाको बहानामा तीन प्रतिशत कट्टा गर्ने तथा अनावश्यक झन्झट दिने काम हुँदै आएकाले त्यस्ता गतिविधि तत्काल सच्याउन बैठकले माग गरेको छ ।
५, अहिले पनि कतिपय सञ्चारगृहले नियमित तलब लगायत सेवा सुविधा नदिएको तथा श्रमजीवि पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेकोप्रति दुःख व्यक्त गर्दै ऐनको कार्यान्वयन गर्न सम्बद्ध सञ्चार गृहसँग बैठकले माग गरेको छ ।
ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐन अनुसार सेवा सुविधा उपलब्ध नगराउने त्यस्ता सञ्चारगृहका विरुद्ध आन्दोलनमा जाने निर्णय गरियो ।
६, यस समितिको आशन्न प्रदेश सम्मेलन आगामी चैत दोस्रो साता गर्ने निर्णय भयो । मिति र स्थान बढ्दो कोभिड–१९ को जोखिम मध्यनजर गर्दै पछि तोक्ने निर्णय गरियो । सम्मेलन सम्पन्न गर्नका लागि अध्यक्ष श्रीजन झाको संयोजकत्वमा प्रदेश कार्यसमितिका साथै मातहतका तीन वटै जिल्लाका अध्यक्ष र सचिव रहने गरी २७ सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय भयो ।
साथै सचिव रोशन पाण्डेको संयोजकत्वमा विष्णु निश्चल, अर्जुन तामाङ, बिधुर ढकाल र रमा न्यौपाने सदस्य रहेको व्यवस्थापन समिति र कोषाध्यक्ष अर्जुन पन्तको संयोजकत्वमा आर्थिक समिति गठन गर्ने निर्णय गरियो ।
७. बैठकमा प्रदेश समिति तथा यस अन्तर्गत गठित विभाग तथा उपसमितिहरुको काम कारबाही, प्रगति विवरण लगायतको समिक्षा गरियो । साथै, कोभिड–१९ राहत कोषमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वका साथै प्रदेश कार्यालय प्रयोजनार्थ फर्निचर लगायतका सामग्री सहयोग गर्नुहुने उपाध्यक्ष वीरबहादुर लामा, कोषाध्यक्ष अर्जुन पन्त, सदस्य अनिल गुप्ता लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
८, कोभिडबाट संक्रमित उपत्यका प्रदेश समितिका सदस्यसहित सम्पूर्ण सञ्चारकर्मीका साथै संक्रमित आम नागरिकको स्वास्थ्य लाभको कामना गरियो । साथै, पत्थरीको शल्यक्रिया पछि स्वास्थ्य लाभ गरिरहनु भएका कार्यसमिति सदस्य घनश्याम अधिकारी ‘बैरागी जेठा’ प्रति पनि स्वास्थ्य लाभको कामना गर्ने निर्णय भयो ।



























