राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धि नयाँ व्यवस्था
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र राहदानी विभागबीच सेवामा अन्तर आबद्धताको संझौता भई हाल विद्युतीय राहदानी जारी गर्दा त्यसको विवरण भिडाई एकिन गर्ने कार्य राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबाट हुने गरी व्यवस्थापन गरिंदै आएको छ।
हाल ७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबारमा रहेका स्टेशनहरुबाट विवरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यवस्था गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।
२५ वटा जिल्लामा वडास्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सम्पन्न भईसकेको छ । हाल १३ वटा जिल्लामा विवरण संकलन अभियान संचालन भइरहेको छ। हालसम्म करिव ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य सम्पन्न भईसकेको विभागले जनाएको छ।
गत २०७८ मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर ९ल्क्ष्ल्० अनिवार्य व्यवस्था गरिएको छ तर सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भैनसकेकोले राहदानी बनाउन काठमाडौंमा आएका नागरिकहरुको हित एवं सुविधालाई मध्यनजर गरी सरकारले तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश नं. २ का अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर तथा प्रदेश नं. १, लुम्विनी र गण्डकी प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुको लागि नारायणहिटी दरवार परिसर (साविकको राहदानी विभाग) मा नागरिकको विवरण प्रविष्टको लागि आवश्यक व्यवस्था गरिएको विभागले जनाएको छ।
उपरोक्त व्यवस्थाको बाबजुत पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पछिल्लो समयमा देखिएको भिडभाडलाई दृष्टिगत गरी काठमाडौं जिल्लाको सबै इलाका प्रशासन कार्यालय तथा स्थानीय तहहरुमा समेत लाइभ इनरोलमेन्ट हुने गरी दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललित बहादुर बस्नेतले जानकारी दिएका छन्।
तसर्थ, तत्काल विद्युतीय राहदानी बनाउन आवश्यक नभएका व्याक्तिले भिडभाड नगरी क्रमिक रुपमा आफ्नो विवरण प्रविष्ट गर्नुहुन र अत्यावश्यक भएका नागरिकले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर लिनुहुन समेत विभागले अनुरोध गरेको छ। सो सम्भव नभएमा माथि उल्लेखित स्थानहरुमा गईCOVID-19 का स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो विवरण प्रविष्ट गराई राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने समेत जनाएको छ।
विभागबाट अभियान मार्फत अफलाइनमा विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर नपाउने व्याक्तिहरुको सुविधाको लागि एसएमएस (SMS) प्रणाली मार्फत राष्ट्रिय परिचयपत्र नम्बर (NIN) उपलव्ध गराउन प्रारम्भ गरिएको छ। सोको लागि N (space) 16 अंकको आवेदन नम्बर टाइप गरी ३०००१ मा पठाउन समेत विभागले सर्वसाधारण नागरिकमा अनुरोध समेत गरेको छ।



























