citizens life insurance long ad
stcnepal long ad

उडिसा पुरी पिठका शंकराचार्य भैरहवा आउदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हिन्दु धर्मका सर्वोच्च धर्मगुरु मानिने चार शंकराचार्य पीठमध्येको एक भारतको उडिसास्थित गोबर्धन मठ, पुरी पीठका शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वती तीन दिने औपचारिक भ्रमणमा कार्तिक ७ गते आइतबार भैरहवा आउने भएका छन् ।

उनले यही सोमबार र मंगलबार भैरहवाको महेन्द्र सभागृहमा आयोजना हुने दुईवटा बेग्लाबेग्लै धार्मिक सम्मेलनलाई सम्बोधन गर्ने तथा हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाका पदाधिकारी एवं धर्मावलम्बीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शंकराचार्यका चार पीठमध्ये पुरी पीठले नेपालको धार्मिक सांस्कृतिक मामिला हेर्दै आएको बताइन्छ ।

भारतका शंकराचार्यका चार पीठमध्ये सबैभन्दा वरिष्ठतम् रहेका शंकराचार्य निश्चलानन्द तीन वर्षअघि नेपाल भ्रमणमा आएका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनले २०७५ वैशाख ३० देखि जेठ ८ सम्म नेपालको भ्रमण गरेका थिए ।

त्यसवेला पुरी शंकराचार्यका तर्फबाट पशुपतिनाथ मन्दिरका मूल भट्ट रावलगणेश भट्टले पशुपतिनाथ मन्दिरमा अभिषेक गरेका थिए । त्यसवेला प्रधानमन्त्री केपी शर्मा ओली र शंकराचार्य निश्चलानन्द सरस्वतीले एउटै मञ्चबाट सम्बोधन गरेका थिए ।

पुरी शंकराचार्यले तीन वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरीमा निमन्त्रणा गरेका थिए भने दुई वर्षअघि उनले नेपाल, भुटान र भारतलाई संयुक्त राष्ट्रसंघबाट हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका थिए ।

शंकराचार्य परम्पराका जानकारहरूका अनुसार हिन्दु धर्मका सर्वोच्च गुरु मानिने आदि शंकराचार्यले स्थापना गरेका चार पीठ स्थापना गरेका थिए र उनीहरूलाई पूरै भारत वर्षको सांस्कृतिक सत्ता सञ्चालनको जिम्मा दिएका थिए ।

पूर्वमा उडिसास्थित पुरी पीठ, दक्षिणमा कर्णाटकस्थित शारदा पीठ श्रृंगेरी, पश्चिममा गुजरातको द्वारिकास्थित शारदा पीठ तथा उत्तराखण्डस्थित जोशी पीठलाई शंकराचार्यद्वारा स्थापित मुख्य पीठ वा मठ मानिन्छ जसले पूरै भारत वर्षको धार्मिक सांस्कृतिक मामिला हेर्दै आएका छन्।

हाल पुरीमा स्वामी निश्चलानन्द सरस्वती, द्वारकामा स्वामी स्वरूपानन्द सरस्वती, श्रृंगेरीमा स्वामी भारती तीर्थ छन् भने जोशी मठ उत्तराखण्डमा शंकराचार्य पद रिक्त छ । हाल द्वारकाको शारदा पीठका शंकराचार्य स्वामी स्वरूपानन्दले जोशी मठ समेत सम्हाल्दै आएका छन् ।

उनले २०७६ पुस १९ गते पुरीमा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै नेपाल, भुटान र भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न संयुक्त राष्ट्रसंघसँग माग गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सन् २०१८ मा उडिसा राज्यको भुवनेश्वर र पुरीमा यिनै शंकराचार्यले निमन्त्रणा गरेका थिए । उक्त भ्रमणको चाँजोपाँजो काठमाडौंस्थित अर्जुनप्रसाद बास्तोलाले मिलाएका थिए ।

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको पछिल्लोपटक सक्रियता बढेसँगै भैरहवामा शंकराचार्यको भ्रमण हुन लागेकोमा नेपालका हिन्दु संघसंस्था तथा हिन्दुवादीहरू निकै उत्साही देखिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले कार्तिक ५ गते शुक्रबार हिमानी ट्रस्टद्वारा आयोजित चियापानमा कलाकार, पत्रकार, बुद्धिजीवी, साहित्यकारसँग भेटवार्ता गरेका छन् । तर, भैरहवास्थित कार्यक्रम व्यवस्थापन समितिका संयोजक कृष्ण शर्माले भने यो भ्रमण विशुद्ध धार्मिक र आध्यात्मिक भएको बताएका छन् ।

शंकराचार्यको भैरहवा भ्रमणको संयोजनकर्तामध्ये एक आदित्य बाहिनीका प्रमुख प्रेमचन्द्र झाका अनुसार काठमाडौंसहित नेपालका सबै प्रमुख सहरबाट हिन्दुसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, आध्यात्मिक व्यक्तिहरू आइतबार भैरहवा पुग्नेछन् ।

भारतमा जेड सुरक्षामा रहेका शंकराचार्यको सुरक्षाका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल सरकारसँग समन्वय गरिरहेको छ ।

पुरी शंकराचार्य आइतबार अपराह्न ४: ३० बजे सुनौली नाका हुँदै भैरहवा आउने छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माको निवासमा शंकराचार्य दुई रात बस्ने छन् ।

शंकराचार्यले सोमबार बिहान ११ बजे महेन्द्र सभागृहमा आयोजना हुने सनातन धर्म सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी उनले मंगलबार बिहान ११:३० बजे महेन्द्र सभागृहमा आयोजना हुने संगोष्ठि प्रतिनिधि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनको भैरहवा भ्रमणको संयोजन आदित्य बाहिनीका प्रमुख प्रेमचन्द्र झा, नेपाली व्यासाचार्य किशोर गौतम, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी अध्यक्ष कृष्ण शर्मा र हिन्दु अभियन्ता कृष्ण भण्डारीले गरेका छन् ।

पुरी पीठ शंकराचार्यका प्रमुख सचिव सुयस प्रशान्तले भारतको गृह मन्त्रालयलाई शुक्रबार चिठी पठाउँदै शंकराचार्यको सुरक्षा व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरेको बुझिन आएको छ ।

IME Life
kumari