Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज नेवार समुदायमा सिथि नखः पर्व धुमधामका साथ मनाइँदै

civilbank long ad

काठमाडौं । जेठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ ।

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।

यस दिन विषेशगरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं (भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ ।

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ ।

चाडपर्वका नाममा ऋतु अनुसारको पकवान खान सिपालु नेवार समुदायले यस दिन वः, चतामरी र सचुंको भोजन गरेर शरीरलाई वर्षा खप्न सक्ने बनाउने संस्कृतिकर्मीहरु बताउँछन् । धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो ।

बर्सातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःका दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चतामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् ।

बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) शुरु हुने भएकोले यस चाडलाई वर्षा अघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

नेवार समुदायमा सिथि नखःले दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. श्रेष्ठ बताउनु हुन्छ । “पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन ।

यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले बर्सातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ”, उहाँले भन्नुभयो ।


२ असार २०७८, बुधवार ०९:४६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad