बेनी–जोमसोम–कोरला सडक आयोजनाः म्याग्दी खण्डको काममा चरम ढिलासुस्ती
????????????????????????????????????
बेनी । उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मङ्सिरदेखि सो करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो ।
विसं २०७६ मङ्सिरसम निर्माण सम्पन्न गर्ने गरी ७६ किलोमिटरको बेनी(जोमसोममा चार र ११० किलोमिटर दूरीको जोमसोम(कोरला खण्डमा सात प्याकेजसहित निर्माण अघि बढाइए पनि अहिलेसम्म बेनी–जोमसोममा ४५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अश्विनकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुस्ताङदेखि कोरला खण्डको काम आगामी जेठभित्रै सम्पन्न गर्ने तयारी गरिएको तथा बेनी(जोमसोम खण्डको काम सकिन अझै एक वर्ष लाग्ने देखिएको छ ।
बेनी–जोमसोम खण्डमा म्याग्दी क्षेत्रको प्रगति गत वर्षको तुलनामा थप घटेको छ । बर्खायाममा बाढी र पहिराले गत वर्ष बनाइएका संरचनामा समेत ठूलो क्षति पुर्याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ ।
बेनी(जोमसोम खण्डको ३८–३८ किलोमिटरको म्याग्दी र मुस्ताङ भागमध्ये म्याग्दी तर्फको प्रगति न्यून छ । जोमसोमदेखि कोरलासम्म ५५ किमी सडक स्तरोन्नतिको काम सकेर हस्तान्तरण भइसकेको छ भने बाँकी ५५ किमीमध्ये ३१ किमीको काम अन्तिम चरणमा पुगेको छ ।
करिडोरअन्तर्गत अहिलेसम्म पनि काम शुरु हुन नसकेको पर्वतको मालढुङ्गादेखि बेनीसम्मको १३ किमी सडकको समेत ठेक्का प्रक्रियामा र छ । पर्वत र बागलुङ कताबाट सडकलाई अघि बढाउने भन्ने निर्क्योल नहुँदा अन्योल बनेको सा खण्डलाई पर्वत हुँदै बेनी आउने सडकलाई नै विस्तार गर्ने गरी आयोजनाले ठेक्का आह्वान गरिसकेको छ ।
आगामी फागुनदेखि नै सो खण्डमा पनि निर्माण कम्पनी परिचालन भइसक्ने आयोजनाले जनाएको छ । चार वर्षदेखि सञ्चालनमा रहेको कुल रु सात अर्ब ७५ करोड लागत अनुमानको सो सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ ।
आयोजना अन्तर्गत सडक स्तरोन्नतिसँगै विभिन्न खोलामा पक्की पुलसमेत निर्माणले तीव्रता पाएको छ । बेनीदेखि कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि २० ठाउँको पुल ठेक्का लगाइ सकिएको र अहिलेसम्म तीन स्थानको पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।
कामले अझै पाएन तीव्रता
गत चैतदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी जारी गरेको बन्दाबन्दीका कारण ठप्प आयोजनाको कामले अहिलेसम्म पनि तीव्रता पाउन सकेको छैन ।
सरकारले बन्दाबन्दी खुलाएको र बर्खायाम सकिएर हिउँदसमेत बितिसक्दा निर्माण कम्पनीहरूले अझै पनि पूर्ण क्षमतामा कार्यक्षेत्रमा जनशक्ति र उपकरण परिचालन गर्न नसकेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।
जोमसोमदेखि माथिको खण्डमा चिसो बढेसँगै गत मङ्सिर पहिलो सातादेखि निर्माण नै रोकिएको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार जोमसोम–कोरला खण्डको काम आगामी जेठभित्रै सकिने र बेनी–जोमसोम खण्डमा समेत चैतदेखि कालोपत्रेको काम शुरु गर्ने गरी निर्माण कम्पनीहरूलाई ताकेता गरिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले करिडोरअन्तर्गत ढिलासुस्ती भएका खण्डहरूको कामलाई यथाशक्य चाँडो तीव्रता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको र आयोजनालाई समेत आग्रह गरिएको बताउनुभयो ।
कहाँ कति प्रगति
आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएका निर्माण कम्पनी मध्ये शर्मा युनाइटेडले ४५ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।
आयोजना अन्तर्गत जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङ्वेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गत वर्ष नै स्तरोन्नतिको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् ।
चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले ८५ प्रतिशत निर्माण सक्दा भेनादेखि झैटेसम्म कञ्चनजङ्घा लामा बिरुवाले सबै काम सकेको छ ।
झैटेदेखि चराङसम्म कञ्चनजङ्घा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेरदेखि कोरलासम्मको १६ किमी सडक दिवा रौतहा एपेक्स जेभीले दोस्रो वर्षमै स्तरोन्नतिको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा चासो र चर्चा पाइरहेको कालीगण्डकी करिडोरसँग आसपासका क्षेत्रको भाग्य र भविष्य समेत जोडिएको छ । राष्ट्रको समृद्धि र विकासको दीर्घकालीन लक्ष्यका लागि समेत वरदान सावित बन्ने देखिएको आयोजनाका काममा विभिन्न कारणवश भएका ढिलासुस्तीलाई हटाउँदै अघि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।


























