अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध १ हजार २ सय एम्पुल डाइजेपाम, १ हजार २ सय एम्पुल फेनारगन र १ हजार २ सय एम्पुल नुफिन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका–१ घर भएका २२ वर्षीय गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी घर भएका २३ वर्षीय साहेबलाल यादब रहेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ३१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गोबिन्द र साहेबलालले सिट मुनी लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरि काठमाडौं महानगरपालिका–३१ भिमसेनगोला भत्केको पुलबाट नियन्त्रित लागूऔषध ४१ एम्पुल फेनारगन,४१ एम्पुल नुफिन र ४१ एम्पुल डाईजोपाम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी बर्दघाट घर भई काठमाडौं गौशला बस्ने २७ वर्षीय विवेक केसी र झापा घर भई काठमाडौं बत्तिसपुतली बस्ने १७ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।






















