stcnepal long ad
nabil bank
macchha(MBL)

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु, अब कुस्माको सडक चार लेन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो ।

पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।

“लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ”, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने “घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ ।”

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु. ८३ करोड ९८ लाख ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्रे गर्नुपर्नेछ । “अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौ”, प्रोजेक्ट म्यानेजर भुसालले भने “बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ”, पहिले जस्तो विभिन्न कारणले काम नरोकिने उनको भनाइ थियो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे । उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने जानकारी दिए ।

रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । उनले स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गरे ।

कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ । कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो ।

पहिले दुई लेनकै बनाउने योजना भएपनि अहिले चार लेनको रुपमा स्तरोन्नति हुन लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उहाँको भनाइ थियो । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ । रासस

prabhu mahalaxmi
kumari