citizens life insurance long ad
stcnepal long ad

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।

कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए ।

उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । उनले भने, “हामीले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफैँ पनि सजग हुनुपर्छ ।”

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । उनले भने, “प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन ।”

काठमाडौं उपत्यका लगायत प्रदेश भर सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उनले जानकारी दिए । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।

काठमाडौँ उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ । रासस

IME Life
kumari