प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी हुनुहुन्छ।
यस्तै, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि भ्रमण टोलीमा रहनुभएको छ।
भ्रमण टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ जना सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विभिन्न साझा चासोका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।


























