कर्मचारी कटौतीको घोषणापछि माइक्रोसफ्टको नाफा ३६.६ अर्ब डलर
काठमाडौं । हजारौँ कर्मचारीलाई स्वैच्छिक अवकाश दिने घोषणा गरेको केही दिनमै प्रविधि कम्पनी माइक्रोसफ्टको नाफा ३६ अर्ब ६० करोड डलरभन्दा बढी पुगेको छ।
सेप्टेम्बर मसान्तसम्मको तीन महिनामा कम्पनीको आम्दानी १९ प्रतिशतले बढेर ९२ अर्ब ३० करोड डलर पुगेको बुधबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। क्लाउड कम्प्युटिङ व्यवसायको बलियो वृद्धिले कम्पनीको आम्दानी बढाएको हो। माइक्रोसफ्ट क्लाउडको आम्दानी ३० प्रतिशतले बढेको छ।
सोमबार माइक्रोसफ्टले लागत घटाउन अमेरिका, बेलायत, भारत र क्यानडाका करिब ६० हजार योग्य कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने घोषणा गरेको थियो। एआई पूर्वाधारमा अर्बौँ डलर लगानी गरिरहेको कम्पनीले बदलिँदो आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न यस्तो कदम चालेको जनाएको छ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले एआई विकासले विभिन्न क्षेत्रमा वास्तविक प्रभाव पारेको बताएका छन्। कम्पनीले एआईमा ठूलो लगानीलाई आफ्नो वित्तीय जोखिममध्ये एकका रूपमा पनि औँल्याएको छ।
यसैबीच, अमेजन, मेटा र अल्फाबेटजस्ता ठूला प्रविधि कम्पनीले यस वर्ष एआई चिप्स र डेटा सेन्टरमा ७०० अर्ब डलरभन्दा बढी खर्च गर्ने अपेक्षा गरिएको छ।
माइक्रोसफ्टको सेयर मूल्य बुधबार बजार बन्दपछिको कारोबारमा २.९ प्रतिशतले बढेको थियो। यसको विपरीत, गुगलको मातृकम्पनी अल्फाबेटको त्रैमासिक खुद नाफा २५ प्रतिशतले घटेपछि सेयर मूल्य ९.७५ प्रतिशतले गिरावट आएको थियो। अल्फाबेटले एआईमा ठूलो लगानी जारी राख्ने जनाएको छ।


























