नेपाल राष्ट्र बैंकले २४ अर्ब ८३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १९ अर्ब ८६ करोड ९४ लाख, ‘ख’ वर्गका बैंकमा ३ अर्ब ७२ करोड ५५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २४ करोड १८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
मुद्दती निक्षेपमा २०२६ नोभेम्बर २ देखि २०२७ नोभेम्बर २ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाइ कात्तिक ११ गते भित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।
खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेकोलगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य नहुने राष्ट्र बैंकले जनाएको छ ।






















