आज चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । चार कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयर खरिद गरिसक्नुपर्ने भएको छ । असोज १६ गते, शुक्रबार कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी चारै कम्पनीले आगामी सोमबार, असोज १९ गते बुक क्लोज गर्ने भएका छन् ।
त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीले सम्बन्धित कम्पनीको साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।
बुक क्लोज भएपछि शेयर खरिद गर्ने लगानीकर्ताले भने यसपटकको साधारण सभा तथा लाभांशमा सहभागिता जनाउन पाउने छैनन् ।
सम्बन्धित कम्पनीहरूले साधारण सभा र लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न बुक क्लोजको मिति तय गरेका हुन् । लाभांश प्राप्त गर्न इच्छुक शेयरधनीले आजको कारोबार अवधिभित्रै सम्बन्धित कम्पनीको शेयरधनी कायम भइसक्नुपर्नेछ ।





















