stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए ।

यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

ऋषि पञ्चमी शुरु हुनुको मान्यता

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो ।

यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण कोही जान सक्ने अवस्था छैन ।

वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ ।

तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए ।

गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए ।

गोकर्णे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा आइतबार वाग्मती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

बिहानैदेखि वाग्मती, मनोहरा लगायत नदी किनारमा प्रहरी राखेर नदी किनारमा भीड जम्मा स्नानका लागि भीड जम्मा हुन नदिने गरी व्यवस्था मिलाइएको उनले बताए ।

नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको वृत्तले जनाएको छ । रासस

IME Lifesidebar
kumari