निषेधाज्ञा उल्लङ्घन गर्ने १ सयभन्दा धेरै गाडी कारबाहीमा
काठमाडौं । उपत्यकामा शनिबार बिहानै निषेधाज्ञा अवज्ञा गर्ने झण्डै १ सयभन्दा धेरै गाडी कारबाहीमा परेका छन् ।
पछिल्लो २४ घण्टामा ७४७ वटा र आज बिहान मात्रै झण्डै एक सय गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हिजो होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ऐन अनुसार ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुवै सजाय हुन सक्छ । काठमाडौं , भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा गएको बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।


























