रोड रेसिङ विजेतालाई विशेष समारोहमा पुरस्कृत गरियो

काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष समारोहका साथ पुरस्कृत गरिएको छ । गत शनिबार आयोजित एक विशेष समारोहमा राइडरहरुलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विभिन्न सिरिजका विजेता खेलाडीहरुलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो । नासा नेपालका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिल कुमार बराल, सचिव सन्तोष न्यौपाने लगायतका पदाधिकारीहरु र अन्य पदाधिकारीहरुले उनीहरुलाई पुरस्कृत गरेका थिए ।
नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड अन्तर्गत नेसनलतर्फ श्रीहरी पौडेल विजेता बनेका थिए भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बनेका थिए ।
त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बनेका थिए भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बनेका थिए ।
ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए ।
यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।
मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो ।
त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगर एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।
सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए ।
समारोहमा विभिन्न पदाधिकारी, खेलाडी र प्रायोजक कम्पनीका प्रतिनिधिहरुले नेपालमा मोटर स्पोर्ट्स विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको र आगामी दिनमा समेत मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मोटर स्पोर्ट्स नेपाल क्लबका सचिव निमेश ज्ञवालीले आगामी वर्षको खेल तालिका समेत सार्वजनिक गरेका थिए ।